सुमन बुढाथोकी
काममा व्यस्त थिएँ, फोन मार्फत खबर आयो – तीन दिनदेखि हराइरहेको मनिषको शरीर चितवनतिर खोलामा भेटियो। मन खङ्ग्रङ्ग रित्तो भयो। भित्तो हेरेर खुइय्य गरेँ, आँत पग्लेर आँखा भिजेछन्। उसलाई सम्झिन मसँग उसको अनुहार आँखामा छैन कारण ऊ कस्तो भएको होला मलाई यकिन छैन। हुर्केको उसलाई मैले कहिल्यै देखिनँ, उसको स्वर मलाई थाहा छैन। तर पनि लाग्यो, ऊसँगै मभित्रको केही मरेको छ। मेरो रित्तोपन अझै रित्तो भएको छ।
ऊ सानै थियो जब एकपटक दशैँमा गाउँमा जाँदा धूलोमा खेलिरहेको उसलाई मैले मायाले बोकेको थिएँ। उसको सिँगाने नाक सफा गरिदिएको थिएँ। ऊ मुसुक्क मुस्कुरायो, मेरै काँधमा भुसुक्क निदायो। आज करिब बीस वर्षपछि ऊ सदाको लागि यो वाहियात दुनियाँबाट नबिउँझिने गरी निदाएको खबर आयो।
बाले त्यागेको बच्चा, आमाले अनाथालयमा छोडेर भुसुक्कै बिर्सिएको किशोर, मृत्युले चटक्कै चुँडालिदिएछ। मृत्युको अभ्यर्थना गरीबस्ने मेरो उमेर उसलाई लागेन, म बाँचिरहन अभिशप्त रहेँ, मेरो भान्जो रहेन।
जिन्दगीको झूर घमासानमा म बेपत्ता गयल हुँदा यदाकदा उसको खबर आउँथ्यो उसलाई देखेका आफन्त मार्फत – दश कक्षा पास गरेछ, नागरिकता बनाउन पाए विदेश जान्छु भन्दो रहेछ, अनाथालयले नागरिकता दिलाउन सकेन रे, बाउले स्वीकार गरेनन् रे, आमाले वास्ता गरिनन् रे, एक्लै कताकता काम गरी हिँडेको छ रे। आफन्त नै हुन् नजिकैबाट रमिता हेर्ने, मरेछ भन्ने खबर आएपछि खङ्ग्रङ्ग हुने अनि फेरि आफ्नै कैफियतको जञ्जालमा अल्झिएर बिर्सिने।
सबैबाट परित्यक्त एउटा अनाथ केटो, कुनै खोलामा मृत अवस्थामा फेला पर्छ। कारण खुलेको छैन रे। ऊ कस्तो देखिन्थ्यो समेत थाहा नभएको विसङ्गत उसको मामालाई यो खबर प्राप्त भएको छ। ऊ के सोच्थ्यो, के महसुस गर्थ्यो, कस्ता सपना औ इच्छाले द्रवित हरेक बिहान उठेर संसार भोग्ने गर्थ्यो, एक थान व्यथित जुनी कसरी बाँच्न चाहन्थ्यो? सबै जवाफहरू अब वाहियात भएका छन्, जसरी वाहियात हुन्छन् हाम्रा सकसयुक्त जिन्दगीहरू हाम्रा मृत्युपछि। नागरिकता, पासपोर्ट, शैक्षिक प्रमाणपत्र, धनीपुर्जा, आदि कागजात जसको फेरो समातेर हामी निस्पृह राज्यको हैकमले कज्याइएर जिउने प्रपञ्चमा आफ्ना उमेर रित्याउँछौँ तिनको गन्तव्य पोस्ट मार्टम रिपोर्ट र मृत्युको प्रमाणपत्रमा टुङ्गिने हो। ऊ पनि यसरी टुङ्गिनेमा पर्यो। मर्ने त उसको उमेर होइन। बाँच्न उसले कहिल्यै पाएन। ऊ जो बाँच्यो/बाँचेन ऊसँगै निरर्थक सकियो।
मान्छेको दुःखदेखि उदासीन आकाश, घाम, हावा, पानी, पृथ्वी उस्तै रहन्छन्, हामी रहँदैनौँ। नारा, जुलुस, भाषण, संसद, अदालत व्यक्तिको सकसदेखि निस्पृह चलिरहन्छन्, हामी चली रहँदैनौँ। कहाँ, कहिले, कसरी, किन पत्तो नै नदिई मृत्युले सुटुक्क झम्टेर लैजान्छ, अनि संसारको दृश्यबाट सधैँका लागि हामी हराउँछौँ। पछाडि रित्तोपन रहन्छ, छोडेर जानेहरुको रित्तोपन असन्तुष्ट बाँच्न अभिशप्तहरुको तृष्णाले छोपेर जीवनको यन्त्रणा भने चलिरहन्छ, बस् चलिरहन्छ।
प्रश्न फर्किएर आफैँतिर तेर्सिन्छ – शीतको थोपा जस्तो बाफिएर हराउने जिन्दगीमा तैँले कति बाँचिस्? नभरिने एकबारको जुनीमा शून्यता भर्ने सपना कति साँचिस्? कामको भीडमा, जीवनको मरुभूमिमा, भारी परेली उचालेर भित्तो हेर्छु र लामो खुइय्य छोड्छु, निस्पृह हावामा निमेषमै त्यो हराई जान्छ, जसरी मेरो भान्जो हरायो, जसरी म हराउँला, जसरी मायावी यो जगत हराउला… बाँकी के रहला?