संगीता सिवा
काठमाडौँ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले आफैंले उद्घाटन गरेको सैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने तोकआदेश अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
सामाजिक सञ्जालमा उक्त तोकआदेशको विरोध भइरहेको छ भने कतिपयले यसलाई हाँसाेकाे विषय पनि बनाएका छ ।
वैशाख ३ मा हेटौंडा–४, शितलमहल चोकस्थित दी नाइन्टिन सैलुनमा एसी र इन्भर्टर मागसम्बन्धी पत्र मेयर लामासमक्ष पेस भएको थियो। मेयर लामाले तोक लगाएपछि उक्त निवेदन दर्ता भएको छ।
सैलुन सञ्चालक सुसन घलान मेयर लामाको आफन्त भएको पत्रमा उल्लेख छ। उनकै अनुरोधमा उनी सैलुनको उद्घाटन गर्न गएको र सोही क्रममा एसी जडानको लागि सहयोग गर्ने वचन दिएको पनि पत्रमा उल्लेख छ ।
पत्रमा लेखिएकाे छ- ‘उद्घाटन कार्यक्रममा तपाईंले भन्नुभएको ‘सैलुनमा गर्मी धेरै छ, म एसी जडानको लागि सहयोग गर्छु’ भन्ने कुरा सम्झेर, यो औपचारिक निवेदन लिएर उपस्थित भएको छु।’
गर्मी अत्यधिक भएको र सैलुनमा ग्राहकको भिड बढिरहेकाले आरामदायक सेवा दिन एक थान एसीको आवश्यकता परेको पत्रमा उल्लेख गरिएकाे छ।