Nepal Viral
अप्रिल 28, 2025

मिम बहादुर परियार


नारनाथ बाजे पवनपुरका एकमात्र पण्डित, जाे स्वर्गद्वारीमा बेद पढेर आएका थिए । अग्लाे कद , गाेलाे अनुहार , माेटाे स्वर , गहुँगाेराे वर्ण ,आँखा भने खैरा ।  मान्छे हेर्दाै रिसाहा देखिन्थे । स्वभाव भने दुरुस्तै हेराइअनुसारकाे थियो । बाेली साह्रै ठर्राे । तथापि गाउँले उनलाई श्रद्धाले बाजे भन्थे । गाउँको हरेक काम उनको स्वीकृतिमै चल्थ्याे । बिहे , व्रतवन्ध , साइत , श्रद्धा ,पूजालगायतका सबैसबै धार्मिक सांस्कृतिक काम उनैले जिम्मा लिएका थिए । यहीँ कारणले उनी बेलाबेलामा भन्ने गर्थे याे गाउँमा रुखकाे पात हाङ्गाबाट खस्न लाग्दा पनि मलाई साेध्छ , मान्छेका के कुरा हाहाहाहा गरी बेस्सरी हाँस्दथे । उनै नारनाथकाे कान्छाे छाेराे धर्मप्रसाद वनारसबाट आचार्य पास गरेर गाउँ आएको थियो । छाेराे पनि काटिकुटि बाबु जस्तैः देखिन्थ्यो । उसको आँखा भने अलिक काला । स्वभाव हाउभाउ ठ्याक्कै नरनाथ बाजे ।


छाेराे धर्मप्रसाद बनारस पढ्न गएदेखि नरनाथकाे भुँइमा खुट्टै थिएन । सबैलाई फुर्ति लगाउँथे । संस्कृतमा आचार्य उत्तीर्ण हुन जस्ताकस्ताले कहाँ सक्नु । अझ  प्रकाण्ड पण्डित याे ठाउँमा भेटिनु अहाेभाग्य हाे भन्थे । यसपटक धर्मप्रसाद गाउँ आएदेखि  नरनाथ गाउँलेलाई छाेराकाे बखान गरिरहेका हुन्थे । उनी आफ्नो छाेराेलाई इंगित गरेर भन्थे पनि याे गाउँमा प्रकाण्ड पण्डितको पाइला पर्नुनै गाउँ पवित्र हुनु हाे । अब गाउँ चाेखाे भयो  । गाउँले जीवित भगवान पायो ।
त्यसताका नरनाथ यस्तैयस्तै  कुराले फुलिरहेका देखिन्थे । रमाइरहेका हुन्थे । छाेराे पनि बाबुले गरेको तारिफभन्दा बढी नखारा गर्थ्याे ! सुर्यलाई तीन फन्काे मारेर तीनतिरबाट तीनओटा बेग्लाबेग्लै  शैलीले नमस्कार गर्थ्याे । गाउँका अल्लारेहरु लुकीलुकी हाँस्थे , बनारसमा धेरै पढेर याे सानाे बाजे बाैलायाे कि के हाे भन्थे ।

एकदिन नरनाथले छाेराेकाे साथ आफ्नो रवाफले गाउँमा  ठुलै धार्मिक कार्यक्रम आयोजना गर्ने जमर्को गरे । पालिकासँग दुईचार मिटिङ बसे । सबैलाई रिझाए र  मिलेर काेटिहाेम लगाउने चाँजोपाँजो जुराए पनि । छाेराेलाई प्रमुख कथा बाचक बनाए । देशभर र देश बाहिरबाट दर्जनौं एकसय एक पण्डित बाेलाउने याेजना बनाए । पालिकासँग कुरा मिले लगत्तै प्रदेशभर काेटिहाेम कार्यक्रम आयोजना हुने हल्ला फिजाए । रिक्सा रिक्सामा माइकिङ गराए ,पवनपुरमा ख्यातिप्राप्त पण्डित धर्मप्रसादले भागवत गीता वाचन गर्नेछन् भन्ने नारा ठाउँठाउँमा सुनिन्थ्याे । चाेकचाेकमा भित्तामा काेटिहाेममा ठुलै दान दक्षिणा दिनेलाई दुबाेका माला , अग्रस्थान आसनकाे व्यवस्था , ताम्रपत्र , यस्तैयस्तै कुराकाे विज्ञापन पनि गरेका थिए ।
एककान दुइकान हुँदाहुँदै माघ सत्र गते सितलहरले ढाकेकाे तराईमा ॐ नमह नमहकाे लयसँगै  काेटिहाेम सुरु भयो । भक्तजनहरु टाढादेखि गाडी रिजर्भ गरेर कथा सुन्न आएका थिए । धर्मप्रसाद कथा सुनाउँथे । मानिसहरु मख्ख हुँदै मन खाेलेर दान दिन्थे । कतिले त आफ्नो ताैल बराबरकाे पैसा दान दिएका थिए । कति छमछम भजनकाे लयमा नाचिरहेका हुन्थे । काेहीँकाेहीँ गाउँका धनी , दानी दुबाेका माला लगाएर गमक्क परेर अघिल्लो लाइन बसेका हुन्थे । बेलाबेलामा छेउका साहेक पण्डितहरु नरनाथ, धर्मप्रसादकी जयजय भन्थे । भक्तहरु उनीहरूलाई पछ्याउँदै जयजयकार लगाउँथे ।

एकदिन धर्मप्रसाद भक्तजनलाई गीताकाे कथा सुनाइरहेका थिए । मानिसहरु नतमस्तक भएर सुनिरहेका थिए । अचानक उनको लय बिग्रियाे । छिनमै उनको आवजमा आभास हुने उर्जा कम भयो । उनकाे स्वर एकातिर थियो नजर चाहाना अन्तै भएको देखिन्थ्यो । धर्मप्रसादका आँखा पर कुनामा सेताे कुर्ता सलवार लगाएकी  युवतीमा राेकिएका थिए । तथापि मन ती युवतीतिर भएपनि कथा वाचन भने गरिरहेका थिए । कथा वाचन गरिरहँदा उनको नजर  बारम्बार त्यहीँ कुनामा बसिरहेकी युवतीमै थियो । ती युवती पनि असाध्यै राम्री देखिएकी थिइन् । सेता कुर्तामा कालो रङ्गको सल निकै सुहाएकाे थियो । मान्छे पनि अग्ली पातली हँसिली , हिरा जस्ती परैबाट देखिने , चम्किने । नत्र किन एकाएक पण्डित प्रेमी हुन्थे र ।
युवतीको रूपकाे शक्तिले धर्मप्रसादकाे मन मस्तिष्कभित्र खैलाबैला मच्चाइसकेकाे थियो । र त  त्यसदिन हतारहतार गरेर उनले आफ्नो वाचन सिध्याएर अरु पण्डितलाई पालाे दिएका थिए । नत्र धर्मप्रसाद यति छिटै कहाँ गद्दीबाट निस्किन्थे र ।

वाचन सक्याएपछि धर्मप्रसाद युवती भएको ठाउँतिर गए । सबैले गुरु नमस्कार नमस्कार भनिरहेका थिए ।  उनले कसैलाई नमस्कार फर्काएनन् । उनको ध्यान  हिडाइ र हेराइ हेर्दा उनी केही चिज खाेज्दै छन् कि भन्ने देखिन्थ्यो । तथापि उनलाई नमस्कारकाे ओइरो लागिरहेको थियो । अन्ततः धर्मप्रसाद केहीबेर ती युवतीको पछाडिपट्टी बसिरहे । उनलाई हेरिरहेका थिए  ।

उनी पछाडि बसेकाे देखेर काेटिहाेममा गाइगुँइ सुरु भयो । किन आचार्यज्यू पछाडि बसे भन्नेमा धेरैकाे काैतुहल्ता बढ्यो । हल्ला धेरै बढेपछि उनी झस्किए । त्यहीँबाट उनी तुरुन्तै बाहिर निस्किए । बाहिर निस्केपछि उनले चाैरमा खेलिरहेका एक बालकलाई दस रुपैयाँ दिएर ती युवतीकाे नाम र ठेगाना साेध्न लगाए । बालकले पनि उनले भनेअनुसार सहि नाम ठेगाना लगत्तै पत्ता लगाएर आचार्यलाई  सुनाए ।
युवतीको नाम र ठेगाना थाहा पाउनेबित्तिकै धर्मप्रसाद खुसीले गदगद भए । मानाैं उनले वर्षाैं पहिले  हराएको बहुमुल्य चिज भेटाएझैं देखिन्थे  ।

ती राम्री युवतीकाे नाम स्वरा रहेछ । घर ताराताल । धर्मराजले त्यति जानकारी थाहा पाउनेबित्तिकै, ताराताल जाने निधाे गरें । कथा वाचनमा आफ्नो पालाे पछाडि सार्न लगाए । छाेराेकाे हाउभाउ , तवरतरिका  बदलिएको देखेर नरनाथ छक्क परेका थिए । यद्यपि उनलेे छाेरालाई भने केही भनेका  थिएनन् ।
धर्मप्रसादलाई त्यो रात निद्रा लागेन । कतिबेला बिहान हाेला र ताराताल जाउँला भएको थियो । नभन्दै भालेकाे पहिलो डाकाेमा   उठे । एउटा साथीलाई बाइक पछाडि राखेर ठाउँठाउँमा साेध्दै स्वराकाे घर ताराताल पुगे । परैबाट गाउँलेले स्वराकाे घर धर्मप्रसादलाई देखाए। उनको घर हेर्दा सामान्य देखिन्थ्यो । तर वरिपरिको वातावरण भने भव्य, असामान्य  थियो  । आँगनभरी फूलले सजिएको थियोे । राता पहेंला रङ्गका फूलले घरलाई विश्वविख्यात कलाकार पिकासाेकाे चित्र जस्तैः बनाएका थिए । घर वरिपरिका रुख , अझ भनाैं रहरलाग्दा रुखले घरलाई बडा बेजोड साथ दिएका थिए । सायद वातावरणकाे परिणाम हुनुपर्छ स्वराकाे रूप पनि । नत्र त्यस्तो रिसाह पण्डितलाई दिवाना ,दास बनाउन कहाँ  सम्भव थियो  र ।

धर्मप्रसाद, स्वराकाे घरभित्र छिर्ने आँट गरेनन् । उनीसँगै गएका साथीले सिधैं घर नजान सुझाएका थिए । घर सिधै जाँदा राम्रो नहुने बताए । धर्मप्रसादले साथीको कुरा मनन गरे ।  सँगैकाे छिमेकीको घरमा साइनाे लगाए । जग्गा खाेज्ने बहाना बनाए । गफैगफमा तेतै केहीबेर बसिरहे । उनी शारीरिकरुपमा मात्रै छिमेकीको घरमा थिए । उनले त्यहाँ भएका कुरा सुनेझैं नाटक गरिरहेका थिए । मानसिकरुपमा भने धर्मप्रसाद स्वराकाे घरमा थिए । मनमा अनेकौं कुरा खेलाइरहेका थिए । सपना बुनिरहेका थिए ।

उनले स्वराकाे घर एकनासले  हेरिरहेका थिए । जसकारण एकाएक  उनकाे मुहारमा छुट्टै चमक आएको  थियाे  ।धर्मप्रसादकाे बहकिएकाे मन थामिएकाे थियो ।  छिमेकीको घरमा केके गफ भयो उनले केही पत्तै पाएका थिएनन् । उनीसँग गएका साथीले  सबै  कुरा मिलाइरहेकाे थिए । यस्तै कुराले दुईचार दिने आउनेजाने वातावरण बनाइरहेका थिए । धर्मप्रसादले चाहेको पनि त्यहीँ थियो ।

धर्मप्रसादले सायदै जिन्दगीमा कसैलाई यसरी हेरेकाे , मनपराएकाे , पछ्याएकाे हुनुपर्छ ? बिचरा पण्डितलाई खै के भयाेभयाे , पूरै दिवाना भएकाे छ , जिस्किदै सँगै गएका  साथीले भन्थे । मस्किँदै नकरान यार म यस्तै त हुँ , उनले भन्थे । पण्डित भएपनि धर्मप्रसाद अल्लारे नै थिए । उमेर २३ , रिसाहा भएपनि  निकै रुप्से , साथीहरू उनलाई जिस्क्याएर केटा दायाँबायाँ कानमा कागती र खुर्सानी झुन्ड्याए हिड्नु । फेरि आँखा लाग्ला नि भन्थे ।

उनी छिमेकीको घरमा काेटीहाेमकाे माहाेलका गफ गर्दै स्वराकाे घरतिर हेरिरहेका हुन्थे । उता घरमा स्वरा खटियामा बसेर पढिरहेकी थिइन् । उनको बुबा मेसिनमा केही सिलाउँदै थिए । आँगनका फूलहरु मस्तले हावाको झाेकमा सलबलाइरहेका थिए । घर वरिपरिका रुख , चराचुरुङ्गी प्राकृतिक धुनमा नाचिरहेका थिए । यता छिमेकीको घरमा बेलाबेला  धर्मप्रसाद टाेलाइरहेका हुन्थे । छिनमा हाँसिरहेका हुन्थे । करिब ३-४ घण्टाकाे बसाइँमा उनी लठ्ठ परेका हुन्थे । साथीले चारपटक चिमाेठेपछि  बल्ल उनले चाल पाउँथे ।  कथा वाचन गर्ने समय भयाे भनेपछि एकछिन झस्किन्थे। साथीले तेरा बाउले मर्लानन् , भाेलि आउला, जाउ भनेपछि उनीहरू पवनपुरतिर फर्किन्थे  ।

ब्राह पन्ध्र दिनसम्म ताराताल आउनेजाने , जग्गा खाेज्ने , हेर्ने बहाना चलिरह्याे । पण्डितकाे धेरै आउजाउ भएको देखेर गाउँलेहरुले कुरा काट्न सुरु गरिसकेका थिए । अन्ततः सबैको मुखमा बुझाे लगाउ  र उनीसँग नियमित भेट हाेस् भनेर धर्मप्रसादले स्वराकाे घरसँगै जग्गा किने । अब धर्मप्रसाद स्वराकाे घर पुग्न सफल भए । उनीसँग जग्गाको बहाना , छिमेकीको नाताले संवाद गर्न पाउने भए ।  जग्गाको निहुँमा उनी दिनहुँ स्वराकाे घरमा जान्थे । उनको बुबालाई बाबा बनी बाेलाउँथे । स्वरा पनि धर्मप्रसाद आउनेबित्तिकै चिया बनाइदिन्थिन् ।


स्वराकाे आनीबानी चालचलन सिलस्वभाव देखेर धर्मप्रसाद झन् पग्लिएका थिए । स्वराकाे स्वर , सम्बाेधन गर्ने तरिका , उनकाे विनम्रता , हार्दिकताले धर्मप्रसादले उनलाई आफ्नो जीवनसाथी बनाउने प्रण गरिसकेका थिए । बेलाबखत धर्मप्रसाद स्वरालाई भन्ने गर्थे हाेइन तपाईंको घरमा नराम्रो चाहिँ के छ ? स्वरा हाँस्दै म छु नि भन्थिन् । यस्तैयस्तै धर्मप्रसादका एकलाइनले उनीहरू नजिकिएका थिए । उठबस , बाेलचाल बढेको थियो । कताकता उनीहरूका आँखाका भाषाले यी दुई  प्रेममा फसेको भान हुन्थ्यो । हुन पनि याे माया धेरै नबाेलि हुने चिज रहेछ ।  माया बस्न सधैंसँगै नबस्दा पनि हुनेरहेछ । विज्ञानले टेलिप्याथीकाे चर्चा अन्तरआत्मासँग त्यसै कहाँ गरेको हाे !  स्वरा र धर्मप्रसाद यसका ज्वलन्त उदाहरण थिए। उनीहरू प्रेम टेलिप्याथीबाट भएकाे भान हुन्थ्यो ।

पवनपुरमा काेटीहाेम चलिरहेको थियाे । अघिल्ला दिनहरूमाझैँ धर्मप्रसादकाे सक्रियता थिएन । उनको रूचि कथा वाचनमा भन्दा प्रेममा बढेको थियो । एकदिन उनले नरनाथलाई, बुबा म प्रेममा फसे , म विवाह गर्न चाहान्छु । मैले केटी  फेला पारिसकेको छु भने । नरनाथ एकछिन रिसाए । छाेरालाई थर्काए । यहाँ काेटीहाेम चलेको छ ,तँ केटीकेटी भन्छस् । केहीबेर पछि केटी काे हाे ? थर गाेत्र घर कहाँ हाे , साेधे । उत्तरमा उनले नाम स्वरा , घर ताराताल भने ! जात , गाेत्र , मिल्छ मिल्दैन केही थाहा छैन विवाह गर्न तम्सिएकाे छ गाेरू भनि फेरि हकारे छाेरालाई । धर्मप्रसादले, बुबा मेरो मन मिलेको छ । मलाई मन परेको छ । बस् तपाईंले हुन्छ भनिदिए पुग्छ भने । ऐ , तँ यहाँसम्म पुगिस् हैन ।  हाम्रो कत्रो इज्जत छ याे ठाउँमा । याे बुझिराख जात गाेत्र मिलेन भने तँ मेरालागि मरिस् छाेरा । तैंले बिटालु हुने काम गरिस् भने बाटो भुलेर पनि घर नआउनु ।  यत्ति भन्दै नरनाथ काेटीहाेम लागेको ठाउँमा गए ।

बुबाका कुरा सुनेपछि धर्मप्रसाद स्वराकाे थर खाेज्न थाले । कतैबाट थाहा पाएनन् । उनी स्वराकाे घर गए साेध्ने । त्यहाँ घरमा   कसैलाई  भेटेनन् । यताउता गरिरहँदा उनको आँखा बिजुलीको मिटरमा गयो । मिटरमा नाम देखें , ज्वाला दर्जी । दर्जी शब्दले उनलाई पीडा दियो एकछिन् खुब ! दुई दिन धर्मप्रसाद बेपत्ता भए । उनी कहाँ गए कसैले पत्तै पाएनन् । जिल्लाभर ठुलै हल्ला भयो । यस्तो पढेको प्रकाण्ड पण्डित कहाँ गए भन्ने ।


हल्लैहल्लाकाे तेस्रो दिन उनी ताराताल देखिए । सधैं देखिने लामो टुप्पी शिरमा थिएन । कमिज बाहिर देखिने जनै थिएन । ताराताल , स्वराकाे घरमा गए , स्वरा किताब पढिरहेकी थिइन् । बुबा केही सिलाइरहेका थिए । सधैं झैं धर्मप्रसाद आँगनमा देखेपछि स्वराले बस्न आग्रह गरिन् । त्यो दिन धर्मप्रसाद अलिक तनाबमा देखिन्थे । उनी केही भूमिका नबाँधी ज्वाला अर्थात स्वराकाे बुबालाई , म स्वरालाई असाध्यै प्रेम गर्छु । विवाह गर्न चाहान्छु । हाे मलाई थाहा छ हाम्रो जात मिल्दैन । मेरो बुबाले मान्नुहुन्न । तर म ऊ बिना बाँच्न पनि सक्दिन बुबा भने । स्वराकाे बुबा के हाे यस्तो , जे मनमा आयो त्यो भन्न पाइदैन बाबू । मेरी छाेरी , मेरो सपना , भराेसा हाे । अहिले यस्तो कुरा नगर्न र सरासर आफ्नो घर जान सुझाव दिए ।

धर्मप्रसादले आफ्नो शिरकाे जनै फालेकाे देखाउँदै, बुबा म अब मानव हुँ । हिजाेसम्म म मनुकाे दास थिए । मसँग बेकामे जात वर्ण थियो । आज म स्वतन्त्र छु । मेरो जात धर्म केही छैन । म बस् मानव भएको छु । स्वरालाई जीवनसाथी बनाउन चाहान्छु । स्वरा बुबा र धर्मप्रसादका कुरा सुनेर निराश थिइन् । तथापि उनका आँखाभरी आँसु देखिन्थे । उनले केही बाेलनन् , मात्रै सुनिरहेकी थिइन् । धेरै बेरकाे गफगाफपछि धर्मप्रसादकाे विद्रोह देखेपछि , ज्वालाले छाेरी तिम्रो के छ चाहाना , के गर्छाैं भनी स्वरालाई साेधे । स्वरा रूदैं घरभित्र पसिन्। केही समयपछि झाेलासहित बाहिर धर्मप्रसादसँगै उभिन् ।

धर्मप्रसाद र स्वरासँगै उभिएको देखेपछि ज्वालाले धेरै बाेलेनन् । उनीहरूकाे मन बुझे , कुरा बुझे र  आशिर्वाद दिए । ज्वालाले केही साेधेनन् । कहाँ जान्छौं , के गर्छाैं त्यो पनि साेधेनन् । उनीहरूलाई हेरिरहे ।

उनीहरू तारातालमा देखिएको त्यो नै अन्तिम क्षण थियो । त्यसपछि उनी कहाँ जाने कसैलाई केही भनेनन् । उनीहरू बेपत्ता भएको नाै महिनासम्म  कसैलाई केही थाहा थिएन । केही अराजकले भन्ने गर्थे दर्जीकी छाेरीले पण्डित गायब बनाइ । यता नरनाथ छाेरा बेपत्ता भएपछि पवनपुरकाे बिरासत छाेडेर काशी गएका थिए । उनका नजिकका मान्छे भन्थे , नरनाथ उतै जाेगी भएका छन् । अब नेपाल आउँदैनन् ।

एकदिन नेपालभाइरल डट कममा एउटा समाचार भाइरल भयो । खाेज पत्रकार नारदले लेखेको उक्त समाचार सार यस्तो थियो ” कुनै समयका पण्डित प्रेम सिकाउँदै ” समाचारले धर्मप्रसाद नाम गरेका पूर्व पण्डितले प्रेमकाे लागि  आफ्नो वर्ण त्यागेर प्रेम सिकाउने अभियान चलाएका छन् । जात वर्ण भत्काउने अभियान बनाएका छन् । आफू जस्तैः प्रेमी थप्दै देशलाई जातविहिन राष्ट्र बनाउने सपना देखेका छन् । धर्मप्रसाद पण्डितबाट प्रेम गुरु भएका थिए । उनी आम मानिसलाई निशुल्क प्रेमका आयामकाे बारेमा सिकाउँथे , जात भत्काउन प्रेरणा दिन्थे । स्वरा भने “अजातप्रेमी ” उपन्यास लेखिरहेकी थिइन् । उनको उपन्यासलाई अक्सफोर्ड प्रेसले बेलायतबाट प्रकाशन गर्ने जिम्मेवारी लिइसकेको थियो । रू १ करोड लेखकीय पारिश्रमिकबाट दिने घाेषणा पनि गरेको थियो ।



जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ