–मिम बहादुर परियार
मेरा हजारौँ दाजुभाइ मारिए
हजारौँ हजार चेलीबेटीको अस्मिता लुटियो
वृद्ध बाआमा अपहेलित भए
दिनहुँ पीडा पिएर,
अपमान सहेर गालीगलौज पचाएर!
मेरा मान्छे दिउँसै अन्धकारमा बस्न विवश भए
म अपराधी निर्लज्ज हेरिरहेँ ।
मेरा दाजुभाइको हिँड्ने बाटो छेकियो
पिउने पानी रोकियो
खाने रोटी लुटियो, बस्ने बास खोसियो
लास जलाउने चिहान सारियो
म अपराधी टोलाएर उभिरहें ।
समता , समानता र सामाजिक स्वतन्त्रता हनन भयो
म चुपचाप बसे
आत्मसम्मान के हो ,त्यो नसोध
समानता के हो, सोध्ने काम बन्द गर
प्रेम के हो, त्यो पनि नसोध
यी प्रश्नका उत्तर खोज्दा मेरा मान्छे मारिए
कुटिए, दमन गरियो, दबाइयो र जलाइयो
म अपराधी देखेर पनि नदेखेझैं बसिरहेँ ।
मेरा कति मान्छेको अवस्था अज्ञात छ
कतिको मृत्यु सूची तयार हुँदैछ
कतिमाथि जालझेल बुनिँदैछन्
कति चिहान जाँदैछन्
कति अस्पतालका शैयामा छन्
कति झूटा मुद्दामा जेलमा सडेका छन्
म अपराधी थाहा पाएर पनि सुतिरहेँ ।
मैले धर्म निभाउन सकिनँ
मैले जेहाद छेडिनँ
फतवा जारी गरिनँ
आफ्नै ठानेर, पिर मान्लान् भनेर
तर मलाई उनीहरूले कहिल्यै आफ्नो ठानेनन्
बरु कमजोर ठानेछन्
निरीह सम्झेछन्
म अपराधी, आफ्नै सम्झेर हात बढाइरहेँ ।
म अबुझले कहिल्यै बुझिनँ
सत्तामा पुगेका मेरा आफ्नाले झनै बुझेनन्
सामाजिक भाइचारा भाँडिएला भन्दै
म अपराधी दिन गन्दै, बुझ पचाइ बसेँ र फसेँ ।
म पापी, समस्या पर्ला भनेर
पिर पिएँ, बोलिनँ
उनीहरू कहाँ त्यस्ता छन्
हामीलाई सस्ता सम्झिँ गनीगनि , छानिछानि मार्दैछन्
मजस्ता लाखौँलाख अपराधी मूकदर्शक बनेका छौँ
रमिते भएका छौँ, सहेका छौँ ।
मजस्ता ढोङी विवेकहीनको के काम ?
रमिता हर्ने धेरै छन्
श्रद्धाञ्जली अर्पण गर्ने थुप्रै छन्
बरु जा सरकारसँग मृत्यु माग
कठपुतलीको अस्तित्व हुँदैन
मजस्तै अपराधी झुण्डको मूल्य हुँदैन ।
सरकार !
मेरो नागरिकता जलाइ दे
मेरो कागजपत्र च्याति दे
त्यसको के काम ?
मलाई जिउँदै मृत्यु दर्ता दे
म मरिसके
जिउँदो लासको अर्थ छैन
दमन सहनेकाे अब काम छैन ।