प्रचण्ड सरकार ढाल्ने मुडमा ,नेकपा एमालेसँग घनीभूत छलफल सुरु

काठमाडौं। लडेर चोटग्रस्त भएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकले दिएको ‘आराम गर्ने’ सल्लाहलाई सदुपयोग गर्दै नेकपा एमालेसँग घनीभूत छलफल थालेका छन्।

नयाँ गठबन्धनको विषयमा केन्द्रित यो छलफलले सत्ताधारी गठबन्धन र अहिलेको सरकारलाई नै जोखिममा पारेको छ।

राष्ट्र बैंकको गभर्नर पदमा नियुक्तिका लागि कांग्रेसको चर्को दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत दबाबमुक्त हुन र राष्ट्र बैंकको नेतृत्व आफैंसँग राख्न खोजिरहेका बेला प्रचण्डको ‘लचकता’ले प्रधानमन्त्रीलाई समेत उनीतिर ढल्काउन सक्ने राजनीतिक वृत्तमा चर्चा छ।

यसबाहेक अरु केही फरक विषयमा पनि एमाले र कांग्रेसबीच असमझदारी बढेको छ जसले यी दुई दलको सहकार्य भत्काउन उत्प्रेरकको भूमिका खेल्न सक्छन्।

राष्ट्र बैंकमा गभर्नर नियुक्त हुन नसकेर बैंकिङ क्षेत्रको नियमनकारी निकाय कायममुकायमको भरमा चलिरहेको दुई महिना हुन लाग्यो।

संसदमा सरकारका नीति तथा कार्यक्रममाथि छलफल भइरहेको र सरकारले नयाँ बजेटको तयारी गरिरहेका बेला आर्थिक क्षेत्रको नियन र नियन्त्रण गर्ने निकाय नै नेतृत्वविहीन हुँदा देशको अर्थतन्त्र नै जोखिमपूर्ण अवस्थाबाट गुज्रिनुपरेको छ।

गभर्नर नियुक्तिका विषयमा सोमबार समेत प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल हुँदा समेत कसलाई नियुक्त गर्ने भन्ने विषयमा कुनै सहमति हुन सकेन। बरु यो छलफलमा दुई दलबीचको दरार झन् बढेको स्रोत बताउँछ। स्रोतका अनुसार यो छलफलमा प्रधानमन्त्रीले गभर्नर आफैंले नियुक्त गर्ने चाहना दर्शाएका थिए।

ओलीले २०८४ को निर्वाचनमा पनि एमाले ठूलो दल बन्ने अपेक्षा गरेका छन्। ठूलो दल बन्ने तयारीस्वरुप उनले बाम एकतालाई पनि प्राथमिकतामा राखेका छन्। तर, भारतसँगको सम्बन्ध अहिल्यै सुधार हुन नसके ८४ मा ठूलो दल भए पनि भारतले आफूलाई प्रधानमन्त्री बन्न दिने छैन भन्ने ओलीको बुझाइ छ।

‘सरकारको नेतृत्व हामीले गरिरहेको र अहिले बजेटको तयारीको समय समेत भएकोले गभर्नर हामीले पाउनुपर्छ’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। छलफलमा प्रधानमन्त्रीले कडा अडान राखेका त थिएनन् तर गभर्नर छोड्ने इच्छा पनि देखाएका थिएनन्।

ओलीको कुरापछि कांग्रेस सभापति देउवा पनि केही हच्किएका छन्। यो छलफलपछि देउवाले सार्वजनिक रुपमा गभर्नर नियुक्ति सरकारका कारणले नभइ हामीले (कांग्रेसले) सिफारिस गर्न नसक्दा नभएको बताएका थिए। देउवाको यो भनाइलाई ओलीलाई फकाउने रणनीतिका रुपमा हेरिएको छ।

स्रोतका अनुसार ओलीले आफैं गभर्नर नियुक्त गर्छन् कि भन्ने कुरामा देउवा सशंकित छन्। ‘प्रधानमन्त्रीले त्यति धेरै अगाडि बढेर एक्लै नियुक्तिको निर्णय गर्नुहुन्छ जस्तो त मलाई लाग्दैन तर यदि यस्तो भयो भने यो धेरै ठूलो राजनैतिक निर्णय हुनेछ’ प्रधानमन्त्रीको आन्तरिक सर्कलसम्म पहुँच राख्ने एक नेताले भने ‘यदि त्यस्तो अवस्था आयो भने गठबन्धन भत्किन्छ।’

प्रधानमन्त्री भारतसँग सम्बन्ध सुधार गर्न नसकेको कुराले पनि कांग्रेससँग बिच्किएका छन्। ती नेताका अनुसार भारतसँग सम्बन्ध सुधार नहुनुमा कांग्रेसको र विशेष गरी परराष्ट्रमन्त्री आरजू राणा देउवाको भूमिका रहेको प्रधानमन्त्रीको बुझाइ छ।

ओली प्रधानमन्त्री भएको एक वर्ष हुन लाग्यो तर उनले अहिलेसम्म भारत भ्रमणको निम्तो पाएका छैनन्। परराष्ट्रमन्त्री पटक पटक भारत गएर भ्रमणको चाँजोपाँचो मिलाउन खोजेको भनिए पनि भारतले निम्तो दिएको छैन। प्रधानमन्त्रीले यस्तो हुनुमा परराष्ट्रमन्त्रीको पहल प्रभावकारी नभएको रुपमा बुझेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ