काठमाडौं । विद्यार्थीलाई जातीय विभेदजन्य गालीगलौज गर्ने पोखरास्थित पृथ्वीनारायण क्याम्पस एक उपप्राध्यापक निलम्बित भएका छन्।
विद्यार्थीलाई ‘तँ दमैले के गर्न सक्छस् गर’ भनेर गालीगलौज गरेपछि पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक डा. देवीलाल शर्मालाई जिम्मेवारीबाट हटाइएको हो।
क्याम्पस प्रमुख प्रा. डा. हरिप्रसाद पाठकले उपप्राध्यापक शर्मालाई पठाएको पत्रमा भनिएको छ, ‘त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ४ दफा १९ बमोजिम मिति २०८२।०१।२६ को पत्रानुसार यस क्याम्पसअन्तर्गत व्यवस्थापन अनुसन्धान विभागको विभागीय प्रमुख पदमा नियुक्ति गरिएकोमा विशेष परिस्थितिका कारण तपाईंलाई उक्त पदको जिम्मेवारीबाट हटाइएको व्यहोरा जानकारी गराइन्छ।’
भएको के थियो ?
त्यस क्याम्पसको व्यवस्थापन संकाय अन्तर्गत एमबिए फाइनन्स विषयको शैक्षिक अवलोकन भ्रमण अन्तर्गत विषय शिक्षक डा. देविलाल शर्मा, राजेन्द्र सुवेदी र धुर्वकुमार बुढाथोकीको नेतृत्वमा गएको भ्रमणमा डा. देविलाल शर्माबाट क्याम्पसका विद्यार्थी अमन परियारमाथि जातिय हिसाबमा अपमानजनक शब्दहरु प्रयोग भएको हो।
उक्त भ्रमणमा निलम्बित उपप्राध्यापक शर्माले ‘दमै …को लेडो, जात नभएको भन्दै अपशब्द प्रयोग गरिएको, दमैले जात जनायो, विशाल दमैको संगतले दमैनै भयो, तँ दमै के गर्न सक्छस् गर’ भन्दै परियारमाथि अपमान गरेका थिए।
पीडित विद्यार्थीले आपत्ति जनाउँदा समेत उनलाई ‘शैक्षिक प्रमाण पत्र पोखरामा नबिक्ने, पोखराबाट नै गायब गर्छु, लोकसेवाको कपि मैले जाच्ने हो, तलाईं जान्या छु, एनक्यु (नन ग्रेड) लगाएर तलाईं कहि न कतैको बनाइदिन्छु; भनि धम्कि दिएको परियारले बताएका छन्।
त्यसपछि यसबारे दलित विद्यार्थी संघलगायतले आलोचना गरेपछि क्याम्पसले उनलाई जिम्मेवारीबाट मुक्त गरेको हो।
दलित विद्यार्थी संघका अध्यक्ष अमृत विकले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पटकपटक क्याम्पस प्रशासन, कर्मचारीद्वारा विद्यार्थीको जातियतालाई लिई गरिएको जातिय अपहेलना, जातिय विभेदप्रति हामी चुप रहदैनौं, क्याम्पस जस्तो शैक्षिक स्थलमा प्रध्यापकहरुबाट नै जातिय विभेद पटकपटक भइरहनु आपत्तिजनक विषय हो र यस्ता घटना पृथ्वीनारायण क्याम्पसमा पहिलो होइनन्।’