काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई सामान्य सोधपुछपछि रिहा भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखसमेत रहेका भट्टराईलाई बोलाएको बेला उपस्थित हुने गरी छाडिएको बताइएको छ।
अख्तियारमा भिजिट भिसामा जानेहरूसँग अनधिकृत रूपमा पैसा असुली गरेको उजुरी परेपछि अख्तियारको टोलीले बुधबार विमानस्थलस्थित कार्यालयमा छापा मारेको थियो।
सोही क्रममा प्रमुख भट्टराईसहित केही कर्मचारीलाई अख्तियारले नियन्त्रणमा लिएको थियो।
अख्तियारले अध्यागमन कार्यालयको महत्त्वपूर्ण कागजात र कम्प्युटर जफत गरेर अनुसन्धान थालेको स्रोतको भनाइ छ।
मंगलबार मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भट्टराई गृह मन्त्रालयमा तानिएको थियो।
अख्तियारले छापा हान्ने सुइँको पाएपछि उनलाई हतारहतार गृह मन्त्रालयमा तानिएको थियो।
विमानस्थल अध्यागमन प्रमुख रहेका भट्टराईले विदेश जाने नेपाली नागरिकसँग चर्को रकम घुस लिएर अध्यागमनबाट पास गराइदिने गरेको उजुरीमा उल्लेख छ।
यसका लागि तस्करहरूसँग सेटिङ हुने गरेको समेत उजुरीमा उल्लेख गरेको अख्तियार स्रोतको भनाइ छ।