सुमन बुढाथोकी
माहौल हेर्दा लाग्छ, नेपाल त कागजमा मात्र सीमित लोकतान्त्रिक राष्ट्र हो, मानौँ यहाँ कानूनी शासन, मानवअधिकार, नागरिक समाज केही पनि छैन। पार्टीका केही थान नेताले कब्जामा लिइराखेको एउटा लिखुरे शासन व्यवस्था कसरी लोकतान्त्रिक गणतन्त्र हुन सक्ला? फेरि व्यवहारमा हामी अझै अन्धभक्त, परनिर्भर र आत्मसमर्पणमा रमाएका निरिह ‘रैती’ नै हौँ भन्ने पर्याप्त देखिन्छ। हामीले पञ्चायती राज फाल्यौँ, तर मनस्थिति भने अझै सामन्ती विषले लठ्ठै छ भन्न सकिन्छ। लाखौँको जनसागर सडकमा उत्रेर, लडेर गणतन्त्र पायौँ तर कथित लोकतान्त्रिक नेताहरू नै रातारात नयाँ राजा भए, पार्टीहरू लगभग धार्मिक मठतन्त्र बने, र हामी थाहा छैन कुन अभिशापले नागरिकबाट फेरि लम्पट भक्तमा अवतरण भयौँ। असल लोकतान्त्रिक गणतन्त्रहरु नागरिकका सचेत प्रश्नहरू र राजनीतिक नेतृत्वका जिम्मेवार जवाफमा मात्रै चल्छन्। तर स्वतन्त्र अभिव्यक्ति र नसोधी नहुने प्रश्नसँग त्रसित भएर मनपरी कानून ल्याई नागरिकको आवाज दबाउन उत्सुक शासकीय रवैया हेर्दा भने यसैका कथित नेताहरूबाट नै लोकतन्त्र बडो खतरामा छ। (भलै सामाजिक सञ्जाल विधेयक विवादमा परी थन्काइएको छ!) लोकतन्त्रको नाममा चलिरहेको यो तमाशा हेर्दा यस्तो लाग्छ आफ्ना थेत्तरे नेताको लुते भक्तिमा मगज गुमाएका धेरै पार्टीभक्तहरुलाई स्वतन्त्रता नै चाहिएको थिएन, केवल नयाँ मालिक चाहिएको थियो जुन पार्टीगत मगजको साँघुरोपनसँग ठ्याक्कै मेल खान्छन्।
लम्पसार कार्यकर्तालाई हिंसाको लागि उक्साउन खप्पिस सत्ताधारी नेतालाई नै सोचेर सायद एमा गोल्डम्यानले भनेकी होलिन्, “यदि तिमी साँच्चिकै स्वतन्त्र हुन चाहन्छौ भने केवल हत्कडी फुकाउनु हुँदैन, ती आदतहरू पनि त्याग गर्नुपर्छ जसले तिमीलाई त्यो हत्कडी स्वीकार्न बाध्य पारे।” हुन पनि हो, आज अधिकांश पार्टीभक्त नेपालीहरू पुरानो हत्कडी फुकाएर नयाँ साङ्लामा बाँधिएर देशको दुर्घटना पर्खिएर खूब रमाइरहेका देखिन्छन्।
नेपालको उदास आकाशमुनि धेरै कुरा फेरियो, तर शासन गर्ने थेत्तरे ढङ्ग, नागरिकमाथि तुच्छताको सीमा नाघेर गरिने अपमान, जनतालाई ठग्ने शैली र सारा संसारकै अगाडि बौलठ्ठी झुट बोल्ने राजनीतिक परम्परा भने जस्ताको त्यस्तै नै छ। अनि आफ्ना नेताको झुट र ठगीलाई र्याल चुहाउँदै समर्थन गर्नु नै राजनीतिक प्राणी हुनुको प्रमुख लक्ष्य हो भने झैँ कार्यकर्ताको रेडिमेड बथान तैनाथ छँदैछन्।
एउटा जमाना थियो जो थोत्रिसक्यो जब ‘फलानो पार्टीको सरकार आयो भने देश बन्नेछ’ भन्ने ‘मास हिप्नोसिस’ चलेको थियो। कब यस्तो गफ पनि खोटो सिक्का भैसकेको छ। तैपनि ‘आस्था’ को खेल जटिल चलिरहेको छ। मान्छेलाई आशावादी रोगले जकडेकै छ। नाङ्गो यथार्थ हेर्न कोही साहस गर्दैनन्। यो विश्वासको दुनियाँमा पागलपन चलिरहेको छ। यो विश्वास, आस्था, आशावाद आखिर केही होइन अफिम हो। मार्क्सले दाबी गरेको “धर्म जनताको अफिम” झैँ नेपाली राजनीति पनि लठ्ठक भक्तहरूलाई लठ्ठयाइराख्ने अफिम हो।मार्क्सले धर्मलाई जसरी शासक वर्गले जनतालाई निष्कृय बनाई सुताउने औजारको रूपमा प्रयोग गर्छन् भने, आजको नेपालमा पार्टी, नेता, घोषणापत्र र झण्डा र दैनिक लुटको तिगडमहरुको विसङ्गति नै त्यो अफिम हो।
जनताले सोच्न छाडेका छन्, टुलुटुलु हेरी छटपटाउन अभिशप्त छन्, अपराधी नेताहरू अकूत सम्पत्ति विदेशमा थुपारेर न्यायालयलाई नै ‘म्यानिपुलेट’ गर्दै धमाधम ‘न्याय’ पाइरहेका छन् । दुष्ट र अपराधी नेताको आलोचना गर्यो कि लोकतान्त्रिक गणतन्त्र खतरामा पर्यो भन्दै सत्ताधारी नागरिकको वाक स्वतन्त्रता खोस्ने चलखेल सुरु गरिहाल्छन्। यस्तोमा अराजकतावादी मिखाइल बकुनिनको विचार कति सटिक लाग्छ, “साँचो स्वतन्त्रता निर्वाचनबाट होइन, विचारको क्रान्तिबाट आउँछ।” नेपालमा चुनाव हुँदै गर्छन्, तर चेतनामा कहिल्यै क्रान्ति हुँदैन। किनभने हामीले पार्टी परिवर्तनलाई क्रान्ति ठान्यौं, र विचार परिवर्तनलाई धोका। नेता उही, लुट र झुटको घृणित प्रवृत्ति उही, अफीमले लठ्ठयाइराखेका पार्टीभक्त कार्यकर्ता उही, अनि नाम मात्रैमा सीमित भएको गणतन्त्र पनि उही! यहाँ चेतना सुतेको छ। प्रश्न गर्नु अपराध हो, नेताको आलोचना गर्नु राष्ट्रघात। यदि नागरिकहरूले आफूभित्रै शासक चेतना विकास गर्न सकेनन् भने, सत्ता फेरिँदैमा व्यवस्था फेरिँदैन। फ्रेडरिक नीत्शेको चेतावनी ठिकै हो, “जो आफैंलाई शासन गर्न सक्दैन, उसलाई अरूले शासन गर्छन्।” नेतावादी नेपालमा नागरिकहरूको चेतना मरेको छैन, तर घुँडामा बसेको छ।
नेताविहीन व्यवस्था कस्तो होला! परजीवी मनस्थितिमा कैद पार्टीभक्ती सँस्कारले स्वतन्त्रता चाहदैन, न्याय चाहदैन, स्वशासन र लोकतन्त्र चाहदैन, यसको लागि हिम्मत चाहिन्छ र भक्तहरूले आफ्नो चेतना, इच्छाशक्ति र हिम्मत पार्टी कार्यालय र नेताका खोपीमा चढाएर दासत्व स्वीकार गरिसकेको प्रतीत हुन्छ। समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्रको कल्पवृक्षमा भस्मासुरे नेतातन्त्र र भक्तिवादी भेडातन्त्रको ऐँजेरु उम्रेको छ अनि राजाको खोजी गर्ने अर्को धर्मभीरु दासत्वको चेतना पनि उही अफिमी सपना मात्रै हो किनकि हामी अझै मालिक खोजिरहेका छौँ, स्वतन्त्र नागरिक हुन डराइरहेका छौँ जस्तै लाग्छ। आज हाम्रो सबैभन्दा ठूलो संकट न त अर्थतन्त्रको हो, न त जनशक्तिको हो। यो संकट त स्वतन्त्र, लोकतान्त्रिक र हिम्मतिलो विवेकको खडेरीको संकट हो। आफ्नै स्वत्वमा अविश्वासको र अफिमी विवेकको विसङ्गत हैरानीको संकट हो। सायद हामी अझै मज्जाले थाकिसकेका छैनौँ, यो विसङ्गतिदेखि अझै हामीमा अन्धविश्वासको लेपन लागेकै छ, मरुभूमिमा अझै हामी मृगतृष्णा हेरेर सुकेको आँत सहिरहेकै छौँ। अराजकतावादी एरिको मालाटेस्ताले भने जस्तो, “सत्तासँग मानिस लखतरान थाकिसकेपछि मात्र ऊ स्वतन्त्रताको लागि तयार हुन्छ।” हाम्रो नेपाली भक्तिमार्गी धवनीमा सत्ताभक्ति र निरिहतालाई आदर्श मान्ने राणाकालीन सँस्कार अझै बाक्लो दौडिरहेकै छ। गणतन्त्र हाम्रो सोचमा उत्रिन बाँकी नै छ। पहिला तुच्छ, लोभी, अविवेकी, अनैतिक नेताहरुलाई देउता मान्न छोड्नुपर्यो, नाफामुखी व्यापारिक कम्पनी बनिसकेका राजनीतिक पार्टीको समर्थनलाई साश्वत निजी पहिचान मान्न छोड्नुपर्यो, नागरिक मालिक हुन् भन्ने यथार्थलाई व्यवहारमा नै प्रयोग गर्ने हिम्मत गर्नुपर्यो। लोकतन्त्र र गणतन्त्र नेपालको विडम्बना कदापि होइन, यो नै सबैभन्दा उच्चतम व्यवस्था हो भन्ने स्विकार गर्दै गणतन्त्रको असली चरित्र स्थापित गर्नतिर ध्यान दिनुपर्यो। झूटा र तुच्छताको आहालमा चुर्लुम्म डुबेका पार्टी र नेताको कुशासनबाट हामी थाकेका त छौँ, तर अझै ब्यूँझिएका छैनौँ । अझै पनि एउटाको भ्रष्टाचार उजागर भएपछि अर्को पार्टीको सत्तालाई मुक्तिदाता मान्ने हाम्रो मानसिकता परिवर्तन भएको छैन। यो मानसिकता नै हाम्रो पराधीनताको मुख्य जरो हो।चुनावले सत्ता बदल्छ, तर प्रश्नले चेतना बदल्छ। आज हामीलाई ‘कसले जित्ने?’ होइन, ‘कसले जनतालाई धोका नदिने?’ भन्ने प्रश्न उठाउनुपर्छ। र यो प्रश्न उठ्न, शंका र सन्देह नै जरुरी छ। हामीले पार्टी होइन, नीति हेर्नुपर्छ, नेता होइन, कामको मुल्यांकन गर्नुपर्छ, नेताको वाचा होइन, कामको हिसाब माग्नुपर्छ, हामी भक्त होइन, आलोचनात्मक चेतलाई प्रयोग गर्ने सचेत नागरिक बन्नुपर्छ, हामीले जात/धर्म/क्षेत्र /राष्ट्रियताको साँघुरो राजनीति गर्ने लठुवा नेतालाई चिन्नेर लोकतान्त्रिक गणतन्त्र, समाजवाद र समानताको राजनीति स्थापना गर्नुपर्छ। गणतन्त्रले राम्रोसँग काम गर्नै पाएन, गणतन्त्रको नाम भजेर अधिनायकवादी बनेका भ्रष्ट नेताहरूको खुलेआम विरोधमा मात्रै गणतन्त्र जोगिन सक्छ।
हामी अब यस्तो मोडमा छौँ जहाँ सत्तालाई दोष दिएर मात्र पुग्दैन। हामीलाई आफूभित्रको भक्तलाई हराउन आवश्यक छ। नेताको गल्तीमा मौन बस्ने जनतालाई दोषहीन भन्न मिल्दैन। नेताले छूट पाएकै नागरिक हुन नसकेका नेताभक्त कार्यकर्ताको अन्धो समर्थनले हो। कार्यकर्ता दास मनोवृत्तिबाट बाहिर निस्किन सके भने नेताको अधिनायकवाद सकिन्छ र नेतातन्त्र र दलतन्त्र नै गणतन्त्रको मुख्य दुस्मन हुन्। यी सकिएपछि राजनीति लोकतान्त्रिक हुन सक्छ, गणतन्त्रले आफ्नो असली चरित्र उजागर गर्न सक्छ।
यदि हामी अझै पनि झुटो आशामा बाँधिइरह्यौँ भने, सत्य सधैँ पराजित हुनेछ। नेतातन्त्र र दलतन्त्रको जीत गणतन्त्रको हार हो। नेपालको यही मुख्य विडम्बना हो। राजनीति नै गणतन्त्रको खिलाफ उभिएर प्रेत राजतन्त्रलाई सडकमा बोलाइरहेको छ। गणतन्त्र र लोकतन्त्रको विरुद्ध दलतन्त्र र नेतातन्त्र अनि भक्तिमार्गी कार्यकर्ताको ठूलो भीड नै लागेको छ। गणतन्त्रको रक्षा केवल संसद चल्नु, मनपरी स्वार्थी विधेयक पेश हुनु, न्यायपालिका चल्नु र नेतातन्त्रको लागि ‘न्याय’ उपलब्ध गराउनुमा मात्र सीमित हुनु कदापि हुँदैन। यस्ता छद्मभेषी दल नेता र कुप्रवृत्ति विरुद्ध हामीले नागरिकको हैसियतले गर्ने सचेत शंकामा, वस्तुगत र कठोर प्रश्नमा, अनि वास्तविक प्रतिकारमा मात्रै लोकतान्त्रिक गणतन्त्र जीवित भएर हुर्किन सक्छ, ‘समाजवाद उन्मुख’ यो गणतन्त्र साँच्चै नै ‘समाजवादी गणतन्त्र’ हुन सक्नेछ। गणतन्त्रको साँचो पक्षधर गणतान्त्रिक चेतना भएका सचेत नागरिक नै हुन्, अनैतिक नेता र अन्धभक्त कार्यकर्ताको भीड चाहिँ यसका साँचो दुस्मन हुन्। गणतन्त्रको वर्तमान र भविष्य पनि यहीँ नै अल्झिरहेको छ।