नेदरल्याण्ड्समाथि नेपालकाे उत्कृष्ट जित

काठमाडौं । आइसिसी विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डको डन्डीमा मंगलबार सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको हो । २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अल आउट हुदै २ सय २० रन मात्र जोड्न सक्यो ।

नेदरल्याण्ड्सका लागि वेस्ली बारेसीले ६० बलमा ३ चौकाको सहयोगमा सर्वाधिक ३६ रन जोडे । दोस्रो विकेटका लागि बारेसी र माइकल लेभिटले ५० बलमा ४१ रनको साझेदारी गरे । लेभिटले २७ बलमा ३ चौका र १ छक्काको सहयोगमा २७ रन जोडे ।

कप्तान स्कट एडवार्डस ४७ बलमा २ चौकाको सहयोगमा ३० रनमा आउट भए । कप्तान एडवार्डसले तेजा निदामानिरुसँग मिलेर पाँचौ विकेटका लागि २९ रनको साझेदारी गरे । निदामानिरु ३६ बलमा १७ रनमा आउट भए ।

नोहा क्रोसले २७ बलमा ४ चौकाको सहयोगमा २२ रन जोडे । क्रोसले सातौं विकेटका लागि काइल क्लेनसँग मिलेर ३७ रनको साझेदारी गरे । क्लेनले ४६ बलमा १ छक्काको सहयोगमा २५ रन जोडे । क्लेनसँग रोलेफ भान मिर्वोले आठौं विकेटका लागि ३१ रनको साझेदारी गरे । मिर्वो २२ बलमा १ छक्काको सहयोगमा १६ रनमा आउट भए ।

नेपालका लागि ओडिआई डेब्यु खेल खेलेका नन्दन यादबले ९ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । सन्दीप लामिछानेले ३, ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो ।

नेपालका आरिफले अर्धशतकीय इनिङ खेले । आरिफले ८५ बलमा ७ चौका र २ छक्कासहित उनले सर्वाधिक ८४ रनको योगदान गरे । आरिफको यो ओडिआई करियरको सर्वाधिक रन हो ।

आरिफले गत साता पनि नेदरल्याण्ड्ससँगको खेलमा अर्धशतक प्रहार गरेका थिए । आरिफले त्यो खेलमा ७८ रन बनाएका थिए ।

भीम सार्कीले ३८ बलमा ३ चौकाको सहयोगमा ३५ रन बनाए । तेस्रो विकेटका लागि भीम र कप्तान रोहितकुमार पौडेलले ७९ बलमा ५९ रनको‌ साझेदारी गरे । रोहित र भीम माइकल लेभिटको बलमा आउट भए ।

उपकप्तान दीपेन्द्रसिंह ऐरी २४ बलमा १ चौकाको सहयोगमा १६ रन जोडे । सिरिजको अन्तिम खेलमा मौका पाएका बसिर अहमदले २५ बलमा ११ रन बनाए । करण केसी १९ बलमा १ चौकाको सहयोगमा ११ रनमा आउट भए । नन्दन यादव १० रनमा अविजित रहे ।

नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई १८ रनमा गुमाएको थियो । कुशलले १९ बलमा २ चौका प्रहार गरे । दोस्रो विकेटका रुपमा १६ बल सामना गरेका अनिल साह २ रनमा आउट भए । नेपालका दुवै ओपनरलाई पल भान मेकरेनले आउट गराए ।

नेदरल्याण्ड्सले १० रन पेनाल्टी स्वरुप पायो । दोस्रो इनिङको सुरुवातमा नेदरल्याण्ड्सले कुनै बलको सामना नगरी १० रन पाएको थियो । नेदरल्याण्ड्सका लागि पल भानले ४, लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए ।

जित पछि नेपाल ८ राष्ट्र सहभागी लिग टु मा १६ खेलमा १२ अंकका साथ सातौं स्थानमा छ । पराजित नेदरल्याण्ड्स २३ खेलमा २६ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ