अभावलाई चिर्दै सामुदायिक विद्यालयबाट परीक्षा दिएकी गाेमा श्रेष्ठले एसइईमा ४ जिपिए ल्याइन्

काठमाडौँ– भक्तपुरको इँटाभट्टामा अभिभावकसँगै बसेर सामुदायिक विद्यालयबाट परीक्षा दिई एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई भक्तपुर क्षेत्र नं २ का सांसद दुर्लभ थापाले पूर्ण छात्रवृत्तिमा कक्षा ११ र १२ पढाउने घोषणा गरेका छन्।

विभिन्न सञ्चारमाध्यममा गङ्गाको बारेमा समाचार प्रकाशित भएपछि सांसद थापाले चासो व्यक्त गर्दै उनलाई छात्रवृत्ति दिने घोषणा गरेका हुन्। सांसद थापाले ‘गोमाले चाहेको अवस्थामा उहाँलाइ कक्षा ११ र १२ मा विद्यालयको शुल्क मात्र होइन पोसाक र किताबसमेत निःशुल्क दिने घोषणा गर्दछु।’ सांसद थापाले भने। गोमालाई भेटेर यसबारेमा कुराकानी गर्ने उनको भनाइ छ।

रामेछापको खनियापानी स्थायी घरभएकी गोमा चार वर्षको उमेरदेखि भक्तपुरको इँटाभट्टामा अभिभावकसँग बसेर चाँगुनारायण नगरपालिका–८ सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयमा अध्ययन गर्दै आइरहेकी छन्। उनले एसइई परीक्षा २०८१ मा ४ जिपिएसहित उत्तीर्ण गरेकी छन्।

गोमाको चाहना भविष्यमा डाक्टर बन्ने रहेको छ। त्यसका लागि उनी कक्षा ११ मा विज्ञान सङ्कायमा भर्ना भई पठनपाठन गर्ने तयारीमा छिन्। गोमालाई सांसद थापाले नासा कलेजमा छात्रवृत्ति दिने घोषणा गरेका छन्। सांसद थापाले गोमालार्ई कक्षा १२ पछि पनि डाक्टर बन्न थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।


‘गोमा जस्तो लगनशील र मेहिनती छात्रालाई सहयोग गर्न पाउनु नै ठूलो कुरा हो’। जुन परिस्थितीमा सामुदायिक विद्यालयमा अध्ययन गरेर ४ जिपिए ल्याउनुभयो, “त्यो अरु विद्यार्थीहरू विशेषगरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि प्रेरणाको स्रोत हो ।’उनले भने ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ