काठमाडौं । एएफसी महिला एसियन कप २०२६ मा छनोट हुने नेपालको सपना अधुरै रहेको छ।
शनिबार राति भएको रोमाञ्चक फाइनलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली आयोजक उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएको हो।
निर्धारित ९० मिनेटको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। तर, पेनाल्टीमा नेपाल दुर्भाग्यशाली बन्यो र एसियन कपमा छनोट हुने ऐतिहासिक अवसरबाट चुक्यो।
यसअघि, खेलमा नेपालले अविश्वसनीय पुनरागमन गर्दै समर्थकहरूको मन जितेको थियो। ३-१ ले पछि परेको अवस्थाबाट कप्तान सावित्रा भण्डारीले सनसनीपूर्ण ह्याट्रिक पूरा गर्दै खेललाई बराबरीमा ल्याएकी थिइन्।
यो हारसँगै नेपालको एसियन कप खेल्ने सपना यसपटकका लागि समाप्त भएको छ।