मिम बहादुर परियार
मृत बाकसमा
हिजोआज जिउँदा माछा पाइन्छन्
सिसाका ठूला बाकसभित्र कृतिम सास राखेर
माछा जिउँदा हुन्छन्
कृतिम सास र छट्पटीले
माछा पीडा देखाउँछ , उफ्रिन्छ
त्यहीँ पीडा उफ्राइले माछा महङ्गो बनाउँछ ।
भ्रष्ट सहरमा
अस्पतालका I See U, भेन्टिलेटरभित्र
बन्द काेठाका शैयामाथि
बिलका चाङले,चुनाैती दिन्छ
बिरामीकाे स्वासप्रस्वास नलीमा
कृतिम सास जाेडिन्छ
उहीँ माछा जस्तै जिउँदो राखिन्छ
महङ्गो शुल्क तिर्न उर्दी जारी गरिन्छ ।
मस्त दरबारमा
काला सेता राता काेठाभित्र
भ्रष्टहरु
दिनहुँ खेल खेल्छन् , आफ्नै खेल
सत्तापक्ष प्रतिपक्ष समर्थन कमिसन
माछामाछा भ्यागुतो इत्यादी
जनताको नाममा!
अस्तव्यस्त समाजमा
जसरी भेन्टिलेटरकाे माछा
पलपलमा सिसामा ठाेकिन्छ राेकिन्छ
अन्तिममा कुनै भान्साभित्र भुटिन्छ
त्यस्तै अस्पतालका कयौं भेन्टिलेटर
त्यसभित्रको जिवित सास
ल्याब , काउन्टरका बिलमा जाेडिन्छ
समाजका कुनाकुनामा जाेहाेकाे लागि ठाेकिन्छ ।
हिजोसम्म नदीमा खेल्ने माछा
आजाद माछा
एकाएक कृतिम भेन्टिलेटरले
महङ्गो बनाइदियाे
हिजो घरबारीकाे मालिक मान्छे
अस्पतालका बिलका चाङले
भएको सबैसबै गुमाइदियाे ।
रहर बाध्यताका बाँधले
भ्यान्टिलेटरभित्रकाे माछा र मान्छेकाे चीत्कार
बन्द एक्वारियम् , बन्द काेठा
माैन छ
बन्दछन् राज्यका आँखा मस्तिष्क
बन्द छ चिता…..पैसा बिना ।