खोटाङ- कक्षा ८ मा पढ्ने बालिका कक्षा ९ मा पढ्ने दुई छात्रबाटै बलात्कृत भएको खुलेको छ। साउन १९ गते १४ वर्षीया बालिका माथिल्लो कक्षामा पढ्ने केटा साथीहरूबाटै सामूहिक बलात्कृत भएको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ।
विद्यालयबाट घर फर्कँदै गरेकी बालिकालाई सोही विद्यालयमा कक्षा ९ मा पढ्ने दुई छात्रले बलात्कार गरेको आरोप छ। बालिका विद्यालयबाट घर फर्कने बाटोको बीचमा जंगल पर्छ। सोही जंगलमा आइपुगेकी बालिकालाई ‘तिमीसँग कुरा गर्नु छ’ भन्दै दुई किशोरहरूले जंगलमा बाटो छेकेर ओढारमा लगी बलात्कार गरेका थिए। बलात्कारपछि बेहोस भएकी ती बालिकालाई जंगलमा नै छोडेर किशोरहरू भागेका थिए। परिवारले खोजी गर्दा बालिका बिहान मात्र ओढारमा फेला परेकी थिइन्।
‘साढे चार बजे विद्यालयबाट घर फर्कँदै थिएँ। एकजना केटाले तिमीसँग कुरा गर्नुछ भन्यो। मसँगै पढ्ने साथीहरू अघिअघि नै घर गइसकेका थिए,’ पीडितले प्रहरीलाई दिएको बयानमा भनेकी छन्, ‘केही बेरमा अर्को केटा पनि आयो। बाटो छेकेर एकछिन हामीसँग बस् भने। उनीहरूले अर्को एक जना भाइलाई चटपटे ल्याउन भनेका रहेछन्। चटपटे खायौँ। खाइसकेपछि नजिकैको ओढारमा लगे। मलाई बोल्न दिएनन्। त्यसपछि पालैपालो बलात्कार गरे। त्यसपछि के–के भयो थाहा छैन। बिहान होस खुल्दा एक्लै थिएँ।’
बालिका बलात्कारमा परेको भन्दै आफन्तले साउन २० गते जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दर्ता गराएका छन्।
‘साउन १९ गते विद्यालय गएकी बहिनी घर फर्किनन्। बेलुकैबाट खोजी सुरु गरिएको भएपनि साउन २० गते बिहान ओढारभित्र एक्लै बहिनीलाई फेला पार्यौँ। बहिनीलाई सोध्दा एउटै विद्यालयमा पढ्ने दुईजना केटाले बलात्कार गरेको बताएकी छन्। नाबालक बहिनीमाथि बलात्कार गर्नेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भनेर जाहेरी दिएका हौँ,’ पीडितका दाजुले भनेका छन्।
साउन २० गते पीडितको स्वास्थ्य परीक्षण गराइएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार जिल्ला अस्पताल खोटाङमा गरिएको स्वास्थ्य परीक्षणमा बालिका बलात्कृत भएको प्रतिवेदन आएको छ। पीडितको बालिकाको अवस्था अहिले सामान्य छ,’ उनले भने। आरोपित दुई जना अहिले फरार छन्। उनीहरूलाई पक्राउ गर्न साउन २१ गते जिल्ला अदालत खोटाङले अनुमति दिएको छ।
साउन २२ गते बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ। विद्यालय पोशाकमै बालिका बलात्कृत भएकाले उनले लगाएको पोशाकसमेत जिल्ला प्रहरी कार्यालय खोटाङमा बुझाइएको छ।