निता घतानी
जनैपूर्णिमा पर्व नेपालमा प्राचीन कालदेखि विशेष रूपमा ब्राह्मण र क्षेत्री समुदायले मनाउने पर्व हो। यस दिनमा तागाधारीले जनै फेर्ने, ऋषितर्पणी गर्ने र धार्मिक अनुष्ठानमा सहभागी हुने प्रचलन छ। तर दुःखको कुरा के छ भने, एकै धर्म मान्ने हिन्दु दलित समुदायलाई यो पर्व संस्थागत विभेदको पर्खाल भएको छ । दलितहरुकाे जनै , डाेरी लगाउने चाहाना हुँदाहुँदै पनि याे पर्वमा कथित उपल्लो जात भनिएकाहरुले नियाेजित तरिकाबाट दलितहरुलाई ठाउँ–ठाउँमा रोक, भेदभाव गरेको देखिन्छ।
चाडपर्व भनेको खुसी बाँड्ने दिन हो। मिठो मसिनो खाने पल हाे । एकअर्कालाई शुभकामना शुभेच्छा प्रकट गर्ने अवसर पनि हाे । विडम्बना जनैपूणिर्मा जस्ता जातवादी पर्वले समाजमा केहीलाई खुसी र केहीलाई पीडा दिने गरेको छ । काेही दिनभर खुसी हुन्छन् त काेही पीडा बाेध गर्दै आँसु झार्न विवश हुन्छन् । यस्ता पर्व मान्नुकाे कत्तिको न्यायसंगत हुन्छ ? चाडपर्वले दिने पीडा जुन समुदायले भाेगेकाे छ उसलाई त्यसको मर्म थाहा हुन्छ । अन्यलाई याे त संस्कृति हाे भन्ने भ्रम हुन्छ ।
मेरो हकमा पनि यस पर्वले मलाई ठुलो पीडा दिएको छ । मलाई बारम्बार याे पर्व तिमीहरू सानाे जातका भएकाले विभेद स्वरुप डाेरी जनै लगाउन मिल्दैन भन्ने जानकारी दिइरहेको छ । जनैपूणिर्मा भन्ने वित्तिकै मेरो मनमा बाल्यकालको तितो अनुभूति तीव्र रुपमा आउँछ । जुन बेला म स्कुल पढ्थेँ। विद्यालयमा जनैपूर्णिमा आउनु भनेको साथीहरूले हातमा रङ्गीचङ्गी डोरा बाँध्ने र उत्साहको साथ चाड मनाउने समय हुन्थ्यो। मेरालागि याे पर्व नमिठाे अनुभवले भरिएको निरस खल्लो पर्व हुन्थ्यो । यस दिनमा म अरुभन्दा अलग रहेछु भन्ने कुरा बारम्बार मस्तिष्कमा आउँथ्यो । कतिबेला मलाई किन यस्तो, भन्ने प्रश्न मनमा आइरहन्थ्याे ।
याे समाजले , जात व्यवस्थाले मलाई दलित समुदायमा राखिदिएकाे छ । जसकारण हामी अरुभन्दा भिन्न छाैं । हाम्रो बस्ती पनि अलग छ । पीडा व्यथा छुट्टै छ । मेरो घर भएको ठाउँमा मेरै समुदायको बस्ती छ । हामी अरुले जस्तै देवीदेवताकाे पूजाआजा गर्छौ । हिन्दु धर्म मान्छाैं । याे समाजका मुख्य चाडपर्व अन्यले जस्तै मनाउँछाैं । जब याे जनैपूणिर्मा आउँछ तब हाम्रो बस्ती माैन हुन्छ । सबैका हात खाली हुन्छन् । हाम्रो बस्तीमा बाहुन पण्डित आउँदैन्न । हामी कहाँ न त जनै फेरिन्थ्यो, न त डोरा बाँधिन्थ्यो। त्यो दिन म लगायतका हजारौं दलितका हात खाली नै रहन्थ्यो।
मेरो घरको छेउमै शिवालय मन्दिर छ। त्यही मन्दिरभित्र गुरुकुल सञ्चालनमा छ। जहाँ संस्कृतका मन्त्रहरू गुञ्जन्छन् । धर्मको पाठ पढाइन्छ। संस्कारको गाथा सुनाइन्छ । तर त्यो धर्म , गुरुकुलकाे शिक्षा कहिल्यै मेरो ढोका सम्म आएन। त्यहाँ पढ्ने कथित प्रकाण्ड पण्डितले अहिलेसम्म जात व्यवस्था खारेज हुनुपर्छ भनेर कहिल्यै पढाएनन् । हामी मानव एकै हाैं भन्ने सिकाएनन् ।
जनैपूर्णिमा , कुशे औशी आउने बित्तिकै त्यस गुरुकुलका विद्यार्थीहरू गाउँभर डोरा बाँध्न निस्कन्थे । हाम्राे बस्ती गुरुकुलसँग टाँसिएको थियो । तर ती बालक पण्डितहरु हाम्रोमा कहिल्यै आएनन् । हाम्रो बस्ती पुग्नुअघि नै उनीहरूकाे बाटो मोडिन्थ्यो। “दलितको घर अपवित्र हुन्छ” भन्ने उनीहरूले सानैमा सिकेका रहेछन्। सायदै त्यहीँ गुरुकुलले सिकाएको हुनुपर्छ । र त उनीहरू दलितको घरमा प्रवेश गर्दैनन् । दलितलाई डाेरी बाँध्नुलाई अपराध ठान्दछन् ।
गुरुकुलकाे रवैया गैरदलित साथीहरूकाे सान र उनीहरूले सुनाउने नमिठा वाक्य “तिमी त कामी जातको हाैं, तिमिहरुले डोरा लगाइन्दैन ।”यो वाक्य सुन्दा मेरो बाल मनमा कस्तो चोट लाग्यो होला भनेर भन्न कठिन छ। त्यो चोटले मेरो आत्मविश्वास आजसम्म पनि पूर्णरूपमा फर्किन सकेको छैन। यसका बाबजुद मैले कहिल्यै कराइन तर हिन्ताबाेध भने सधैं हुन्थ्यो । यहीँ कारणले मभित्र रुपान्तरण र चेतनाको चेत सदैब रहिरह्यो ।
समयक्रममा जब म बुझ्ने उमेरमा पुगेँ, जब मेरो हातमा केही रुपैयाँहरू आउन थाले । मैले आफूले आफैँलाई डोरा किनेर बाँध्न थालेँ। जात धर्मले बञ्चित गरेको डाेरीलाई मैले २० रुपैयाँको किनेर त्यो बहिष्करणलाई ‘हक’ काे रुपमा खरिद गरिदिए । त्यस दिन मलाई महसुस भयो । यो डोरा मात्र रङ्गीचङ्गी धागो होइन,यो त शक्तिको, आत्मसम्मानको, र विद्रोहको प्रतीक हो । त्यसपछिका जनैपूणिर्मामा मेरो हात खाली छैन । मेरो हातमा डोरा मात्रै होइन, चेतना बाँधिएको छ। यो केवल मेरो अनुभव मात्रै होइन। यो सिंगो दलित समुदायका लाखौँ नानीबाबुहरूको साझा घाउ हो । जहाँ संस्कृति र परम्पराको नाममा छुवाछुत अझै पनि लुकेर बसेको छ। दलित समुदायलाई सामान्यतः जनै धारण गर्ने परम्परागत अनुमति छैन, किनकि जनै (अपवित्रता हटाउने ‘पवित्र धागो’) ब्राह्मणवादी जातीय सन्दर्भमा मात्र मान्य मानिन्छ।यो धार्मिक पवित्रताको परिभाषाले दलितलाई “अछुत” रूपमा हेर्ने मानसिकता बलियो बनाएको छ।
जनैपूणिर्माकाे सवालमा दलित समुदायका बालबालिका र युवाहरूलाई कतिपय ठाउँमा डोरा बाँध्न दिइँदैन वा असहज महसुस गराइन्छ। कतिपय मन्दिर वा सार्वजनिक स्थानहरूमा डोरा बाँड्दा दलितलाई छुट्याइने समाचार आज पनि छापिरहेको हुन्छ ।
अबको आधुनिक समाजमा हामीले चाडपर्वहरूलाई भेदभाव होइन, भातृत्वको प्रतीक बनाउनुपर्छ । समता र शान्ति रुपमा चाडपर्व मनाउनुपर्छ । जनैपूर्णिमा अब मेरो लागि हातको डोराभन्दा पनि मनको चेतनाको कुरा हो।संविधानले जातीय विभेद र छुवाछुतलाई अपराध मानेको दशकाैं बितिसकेको छ। तर व्यवहारमा त्यो संवैधानिक हक अझै कागजमै सीमित छ।आज भोलि ब्यापकरुपमा ‘समावेशी चाडपर्व’ को प्रचार हुन्छ, तर वास्तविकतामा अझै पनि दलितहरू विभिन्न चाडहरूमा हेपिएर बसिरहेका छन्।
म त्यो चाडलाई समानता र समावेशीताको सूत्रमा बाँध्न चाहन्छु।तर के हाम्रो समाजले कहिले सिक्ला ?धागोले भन्दा ठूलो रक्षा त सम्मानले गर्छ। छुवाछुत हटाउनु भनेको केवल कानुनी प्रश्न होइन ।यो मानवताको, आत्मसम्मानको, र राष्ट्रिय एकताको प्रश्न हो।यदि हामीले सबै नेपालीलाई एउटै डोरीले बाँध्न सकेनै भने , कुनै पनि डाेरी, जनै र टिकाले यो समाज लाई बाध्न सक्दैन। नेपालको संविधानले सबैलाई समान अधिकार दिएको छ।
अन्ततः नेपाली समाजको प्रगतिपथमा गएको हेर्नुछ भने यस्ता जातवादी कथित परम्पराकाे अन्त्य आवश्यक छ । समाजले जात होइन, कर्म र समानताको मान्यतालाई पहिलो नम्बरमा राख्नुपर्छ। सही चेतना, शिक्षा, नेतृत्व, र कानून कार्यान्वयनबाट मानवतावादी काेणकाे विकास गर्नुपर्छ । विद्यालयदेखि नै “समानता”, “मानवअधिकार”, “समावेशिता” जस्ता विषय अनिवार्य बनाउनु पर्छ।
नेपाली चाडपर्वले बाल मनस्थितिमा कसरी प्रभाव पारेको छ भन्ने कुरा यो आलेखमा निता जीले लेख्नु भएको छ । उहाँले भने झै हाम्रा चाडपर्व पर्व भातृत्व विकासका लागि हुनु पर्ने हो तर असमानता श्रृजना गर्ने साधन बनिरहेका छन ।