मिम बहादुर परियार
एका बिहानै खुट बज्यो
आवज सुनियो
आँसु देखियो
आँगनमा नेपालीको लास राखियो ।
नेपाल दाइहरु गाउँमै थिए
घरमै थिए
सुनेका थिए नेपाली खसेको
सम्झेँका थिए उसको साथ र सीप ।
अघिपछि सबै जुट्थे , मिलाउन लागिपर्थे
पढेका जानेका बुझेका सिपालुहरु
त्यसदिन
आली छत गाेरेटाेबाट निआल्दै थिए
रमिता हेर्दै थिए
बिचाराे नेपाली गयो भन्दै गाेहिका आँसु झार्दै ।
नेपाली दाइ साझा थिए
जिउँदाकाे जन्ती मरेकाकाे मलामी गएकै थिए
मानुमा बर्षभरी
सबैका लाज ढाक्ने कपडा सिलाएकै थिए
उत्सव उत्साहमा गजाले दमाह बजाएकै थिए
सबैलाई हजुर ज्यूज्यू तपाईं भनेकै थिए ।
अझ,
स्विकारेका थिए पैतालाका कथा
सहेर बसेकाे थिए जब्बर जातकाे व्यथा
पिएका थिए बिषले भरिएको अहंकारी जनै रवाफ
दिँदैन थिए कसैलाई जवाफ ।
नेपाली , सधैं समाजमा सुस्तै हिड्थे,बाेल्थे
बाटो मुनिकाे फूल झैं ३५०० वर्ष देखि
त्यो दिन अनायसमै सुस्ताए नेपाली दाइ
कसैलाई नभनी, केही नबिराइ
अनन्त यात्रामा ।
यता,
नेपालीको छाेराे गएको थियोे खाडीमा ,बेचेर घरबारी
छाेरी पराई घरमा थिई
जहान घरमा एक्लै हुन्थिन्
पतिको लास देखेर मुर्छा परेकी थिइन्
बिष्ट बराजुतिर हेर्दै , गुहार मागेकी थिइन् ।
नेपालीले झैं जहानले पनि
मानेकी थिइन् गाउँलेकाे भराेसा
राखेकी थिइन् बाँस ,काँध र घाटकाे यात्रामा अपेक्षा ।
उनी
सधैं भन्थिन् सबै मेरा हुन्
सम्झिँकी थिइन् रातभर कलमा काम गरिदिएको
दशैंमा उत्साह थिपिदिएकाे
विडम्बना त्यस दिन भैंदियाे रमिता
थपियो पीडा ।
त्यो दिन नेपालहरु नेपालीको गुनकाे
एकएक भर्पाइ गर्दैछन्
उसका हरेक साथलाई सम्झिँदै
छत आलीबाट
जात देखाउँदै छन्
शुद्धताकाे भर्याङ बनाउँदै स्वर्ग जाने सपना देख्दै छन् ।
जातकाे जाताेमा रमेका नेपाल
जात जाेगाउन उभिएका छन् , वेकेटकाे नाटकमा झैं ।
खुट : कर्नाली भेगमा दमाई समुदायले एक गाउँबाट अर्को गाउँका दमाई आफन्तलाई गार्होसाह्रो जनाउ दमाहबाट गरिने सञ्चार!