काठमाडौं । प्रर्दशनकारीहरुबाट आगजनी र तोडफोड भए पनि अर्थ मन्त्रालय काम सुरु गर्न सक्ने अवस्थामा रहेको अर्थ सचिव धनश्याम उपाध्यायले बताएका छन् । आज अर्थ मन्त्रालयमा निरीक्षणपछि सचिव उपाध्याय केही मन्त्रालयका केही विभागहरुमा क्षति पुगे पनि बजेट, राजस्व र भन्सार प्रणालीका तथ्यांक सुरक्षित रहेकाले तत्काल काम सुरु गर्न सक्ने अवस्थामा आफूहरु रहेको उनले जानकारी दिए ।
‘भौतिक रुपमा धेरै तथ्यांक नष्ट भएका छन् । तर, अर्थ मन्त्रालय अन्तरगतका बजेट प्रणाली, भन्सार प्रणाली र राजस्व प्रणालीका तथ्यांक जोगिएको छ । यसका आधारमा हामी अर्थ प्रशासन तत्काल काम सुरु गर्न सक्ने अवस्थामा छ,’ उनले भने, ‘काम सुरु गर्नका लागि सरसफाइ, क्षति व्यवस्थापनलगायत काम पनि सुरु भएको छ ।’
झण्डै दुई दर्जन भन्सार र राजस्व कार्यालयहरुमा क्षति भए पनि आजको दिनमा अर्थ मन्त्रालय काम सुरु गर्न सक्ने अवस्थामा रहेको उनले जानकारी दिए । ‘अर्थ मन्त्रालय छिट्टै पूर्ण रुपमा सञ्चालन गरेर अर्थतन्त्रमा आशा र भरोसा जगाउने प्रयास गर्छौं । मूल प्रश्न निजी क्षेत्रमा ठूलो क्षति भएको छ भने उनीहरुको मनोबल उठाउनु छ । त्यसका लागि मन्त्रालय पूर्ण रुपमा अहोरात्र खटेर काम गर्ने छ ।’
मुलुकमा लगानी विस्तार, रोजगारीका अवसर सृजना र उत्पादन बढाउने काम निजी क्षेत्रबाट हुने भएकाले सबैभन्दा पहिले त्यो क्षेत्रको आत्मविश्वास बढाउने तर्फ मन्त्रालयको ध्यान केन्द्रित हुने उनले बताए । यसका लागि समाजका सबै सरोकारवालाहरुसँग समन्वय गरेर अघि बढ्ने पनि उनले बताए । ‘क्षति राम्रो सुरुवात गर्ने अवसर पनि हो । अब सबै पूर्ण रुपमा सक्रिय भएर काम गर्नुपर्ने बेला आएको छ ।’