काठमाडौं । टिकटकमार्फत चर्चित भएकी मोडल आँचल नाथको निधन भएको छ।
केही दिनअघि काठमाडौंस्थित आफ्नै कोठामा अज्ञात व्यक्तिले उनीमाथि पेट्रोल छर्की आगो लगाएको भन्ने आरोपको खबर बाहिरिएको थियो। गम्भीर रूपमा घाइते भएकी नाथलाई तत्काल अस्पताल भर्ना गरिएको थियो।
तर उपचारका क्रममा आज उनको मृत्यु भएको खबर प्राप्त भएको पारिवारिक स्रोतले जनाएको छ। उनका बुवाले दिएको जानकारी अनुसार आँचलको करिब ८० प्रतिशत शरीरको भाग जलेको थियो।
यो घटनामा सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने तीनजना युवकहरूमाथि शंका लागेको भाइ दीपेन्द्र बताउँछन्। ‘टिकटकपछि आँचललाई फोन गरेर मार्दिन्छु भन्नेसम्म धम्की दिएका थिए। प्रहरीले सबैभन्दा पहिले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ। आत्मदाह हो वा अरुले आगो लगाए, छिटो छानबिन होस् ।’
एक महोत्सवमा गायक पुष्कल शर्माले स्टेजमा गीत गाउँदा आँचल रोएरै नाँचेकी थिइन्। उक्त महोत्सवमा उनको अभिनयलाई लिएर धेरैले भविष्यकी कलाकारका रुपमा भाइरल बनाएका थिए।