हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलनसम्बन्धी परामर्श सभाः प्रधानमन्त्रीद्वारा विशेष सुझाव


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्खण्डको सभ्यता विश्वमै विशिष्ट रहेको उल्लेख गर्दै कला, साहित्य र संस्कृतिलाई समेटेर हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन आयोजना हुन लागेकामा खुसी प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजना हुने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ को आयोजक समिति र सल्लाहकारसहितको परामर्श सभालाई सम्बोधन गर्नुहँुदै प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले मौलिक संस्कृति नै नेपाली जग भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले यसै हिमवत्खण्ड भूखण्डबाट ज्ञान, योग र दर्शनको प्रादुर्भाव भएको विचार व्यक्त गर्दै धर्तीको यस भूभागमा त्रेतायुगदेखि नै औषधि विज्ञानसमेतको आविष्कार भएकाले यसको गौरवलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलाले सम्मिलन आयोजना गर्नु गौरवको कुरा भएको उल्लेख गर्दै सम्मिलन भव्यतापूर्वक सफलताको कामना गर्नुभएको थियो ।

सभाका सभापति प्रा. केशव सुवेदीले सम्मिलनले हिमवत्खण्डको गौरवमय परम्परालाई उजिल्याउने विचार व्यक्त गर्नुभयो ।  

प्रतिष्ठानका महासचिव हरिप्रसाद भण्डारीले सभाको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । यसै गरी कोषध्यक्ष तथा अर्थ समितिका संयोजक फूलमान वलले यसअघि २०७५ मा काठमाडौँमा यस प्रकारको पहिलो सम्मिलन भएको स्मरण गर्दै सम्मिलन आयोजनको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । उहाँले मौलिक संस्कृतिको खोज–अन्वेषण, संरक्षण एवम् संवद्र्धन गर्नु, हिमवत्खण्ड क्षेत्रका नेपाली भाषी स्रष्टाहरूको पुनर्मिलन गर्नु र हिमवत्खण्डको गौरवलाई उच्च बनाउनु सम्मिलनको उद्देश्य रहेको बताउनुभयो ।    

अन्तर्राष्ट्रिय सम्पर्क समितिका संयोजक शशी लुमुम्बूले आगामी चैत १ देखि ३ गते २०२५ मार्च १४ देखि १६) सम्म काठमाडौँमा हुने सम्मिलनमा नेपाल, भारत, चीन, बंगलादेश, म्यान्मार, भुटान, थाइल्यान्डलगायतका देशबाट सयभन्दा बढी साहित्यकार तथा कलाकारहरूको सहभागिता रहने बताउनुभयो । उहाँले देशका सातओटै प्रदेशबाट लोकसंस्कृतिविद् र कलाकारहरूको सहभागिता रहने र विभिन्न सम्मिलनमा देश–विदशेका विद्वान्हरूबाट नेपाली लोकसंस्कृति, हिमवत्खण्डका भाषा, साहित्य विषयमा बहस गर्नुका साथै सांस्कृतिक प्रस्तुति गरिने जानकारी गराउनुभयो ।

सांस्कृतिक समितिका संयोजक अशोककुमार राईले बृहत् सांस्कृतिक उत्सव र उक्त उत्सवमा आयोजना प्रस्तुत गरिने सांस्कृतिक विषयवस्तुका बारेमा जानकारी गराउनुभएको थियो ।

सम्मिलनमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा एवम् मन्त्रीहरूका साथै सिक्किमका पूर्व मुख्यमन्त्री एवं साहित्यकार पवन चाम्लिङको समुपस्थिति रहने जानकारी गराइएको थियो । सभाको सञ्चालन कलाकरा दिनेश डिसीले गर्नुभएको थियो ।
परामर्श सभामा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेती, ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य, बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल, डा. तुलसी भट्टराईलायतको उपस्थिति रहेको थियो ।  

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ