त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिविलिटी कम हुँदा अन्तर्राष्ट्रिय उडानका विमानहरू डाइभर्ट भएका छन् । विभिन्न मुलुकबाट आएका फरक वायुसेवा कम्पनीका जहाज अवतरण गर्न नसकेपछि अन्यत्र डाइभर्ट गरिएको हो ।
विमानस्थल स्रोतका अनुसार दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको उडान नम्बर क्यूटिआर-५५२ को विमान कलकत्ता पठाईएको छ । स्थानीय समयअनुसार बिहान साढे ३ बजे दोहाबाट उडेको विमान साढे १० बजे अवतरण गर्नुपर्ने थियो ।विमानमा परराष्ट्रमन्त्री आरजु राणा पनि रहेको बताइएको छ ।
त्यस्तै, नेपाल एयरलाइन्सको आरए-४१६ जहाज दिल्ली डाइभर्ट भएको छ । क्वालालम्पुरबाट यात्रु लिएर आएको जहाज आकाशमा केहीबेर फन्को मारेर दिल्लीतर्फ मोडिएको हो ।
यता, छन्तुबाट आएको सिचुवान एयरलाइन्सको विमान पनि काठमाडौँमा अवतरण गर्न सकेन । सिचुवानको 3U3901 जहाज ११:२० बजे अवतरण हुनुपर्नेमा खराब मौसमका कारण ल्हासा डाइभर्ट गरिएको बताइएको छ ।