पश्चिमी वायु प्रणाली सक्रिय हुँदा हिमाली र पहाडी क्षेत्रमा हिमपात तथा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली भेगमा हिमपात र उच्च पहाडी क्षेत्रमा भारी वर्षा भएको हो । बागमती, लुम्बिनी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
लामो समयको खडेरीले अन्न बाली बिग्रन थालेको भन्दै चिन्तित बनेका सुदूरपश्चिम र कर्णालीका किसानलाई हिमपात र वर्षाले राहत पुगेको छ । कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा, कालीकोट र जुम्लाका अधिकांश ठाउँमा भारी हिमपात भएको छ भने अन्य पहाडी जिल्लामा गहुँ, जौंलगायत अन्न बालीलाई पुग्ने गरी वर्षा भएको छ ।
५ हजार मिटर उचाइका नारा र न्यालु लेकमा झन्डै ३ फिट हिउँ परेको छ भने हिमपातपछि जनजीवन कष्टकर भए पनि अन्न बाली, तरकारी र फलफूल सप्रिने भन्दै किसान खुसी भएको छ ।
कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा हिमपातले सेताम्मे बनेको छ । रारामा बिहीबार रातिदेखि हिमपात भएको छ । रारामा झन्डै २ फिटसम्म हिउँ परेको रारा राष्ट्रिय निकुञ्जका रेन्जर धर्मजित साउदले बताए ।
हिमपात भएपछि हिमाली जिल्लाका किसानले वरपर जमेको हिउँको डल्लो स्याउका बोट वरपर राख्न थालेको कर्णालीको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए । उनका अनुसार स्याउको बोट आसपासको क्षेत्र सिञ्चित हुने भन्दै हिउँका डल्ला राख्न थालिएको हो । ‘जति धेरै हिउँ प¥यो, उति धेरै स्याउ फल्छ,’ उनले भने, ‘सिँचाइ गर्नुपर्ने झन्झटबाट किसानले मुक्ति पाए, स्याउमा रोगकिराको प्रकोप पनि यस वर्ष कम हुने देखियो ।’
हिमपातका कारण कर्णालीका सबै हिमाली जिल्लामा सुर्खेत र नेपालगन्जबाट हुने हवाई सेवा उडान रद्द भएको छ । हुम्लास्थित सिमकोट विमानस्थलमा झन्डै २ फिट हिउँ जमेको छ । हिमपातका कारण मध्यपहाडी राजमार्ग, गमगढी—नाग्म सडक र सिमकोट—हिल्सालगायत झन्डै एक दर्जन सडकमा यातायात सेवा बन्द भएको छ ।
हिमपातका कारण स्थानीयलाई घरबाहिर निस्कन समस्या भएको छ । बाक्लो हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिकाबाट सदरमुकाम सिमकोट आउने सबै पैदल मार्ग बन्द भएका छन् ।
बिहीबार रातिदेखि भएको हिमपातका कारण मध्यपहाडी लोकमार्गअन्तर्गतको रुकुम पूर्व–बागलुङ सडक खण्डको आवागमन अवरुद्ध भएको छ । पातिहाल्ने र आसपासमा हिमपात भइरहेकाले लोकमार्ग बन्द भएको रुकुम पूर्वका डीएसपी माधवराज खरेलले बताए ।
मुगुस्थित गमगढी—नाग्मा सडकअन्तर्गतको सातमोडमा भारी हिमपात भएपछि यातायात बन्द भएको छ । हुम्लाको सिमकोट—हिल्सा सडकका अधिकांश ठाउँमा बाक्लो हिउँ जमेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । सिमकोट विमानस्थलको हिउँ हटाएपछि मात्र हवाई सेवा सुचारु हुने उनले जानकारी दिए ।