आज धेरै स्रोता दर्शकले मेरो गीत र स्वरलाई अथाह माया दिनुभएको छ। त्यही मायाले आर्जन गरेको पैसाले मैले आफू र आफ्नो परिवारका सदस्यका लागि गाँसबासको बन्दोबस्त गर्न सकेँ।
मेरो वर्तमान आज धेरै सहज छ, तर मेरो विगतको कथामा सजिलो भन्ने केही थिएन। थियो त केवल दुःखै दुःख। चुनौती नै चुनौती।
कतिलाई शान्तिश्रीले दुःखको कथा सुनायो भन्ने पनि लाग्न सक्छ, तर म मेरो विगतलाई परिमार्जन गरेर कथा बनाउन चाहन्नँ। झुटो कथाले आत्मालाई सन्तुष्टि मिल्दैन। आत्मालाई सन्तुष्ट मिल्ने भनेको त यथार्थमै हो।
मैले मेरो यथार्थलाई तोडमरोड गर्नु भनेको मेरी आमालाई झुक्याउनु बराबर हो। किनभने म कुन धरातल टेकेर यहाँ आइपुगेको छु भन्ने कुरा बिर्सिनु हुन्न। त्यो विगत नभएको भए आज यो वर्तमान हुने थिएन।
मलाई यथार्थ एकदम मन पर्छ।आफ्नो पनि, अरुको पनि। त्यसकारण म जे छु जस्तो थिएँ त्यसचिजप्रति प्रेम छ। गहिरो प्रेम छ।
म आफ्नो जन्मथलो छोडेर ह्वामा गाउँ छोडेर रोल्पाको सदरमुकाम लिवाङ आउँदा सात वर्षको थिएँ। आफू जन्मेको ठाउँ र खेलेको माटो छोडेर नौलो ठाउँ झर्नु नयाँ संघर्षको सुरुवात थियो।
बुबाआमाका हामी सातजना सन्तान। दाइ र दिदीपछि जन्मेकी म। त्यतिबेला आमावुवाको बलमा नै पेट पालियो। दुई तीन वर्षपछि बल्ल स्कुल जाने अवसर मिल्यो। त्यो पनि आमाको बलमा। मेरी आमा मेरो छोरीलाई नाम लेख्न सक्ने बनाउँछु भन्नुहुन्थ्यो। म आमालाई डोको बोक्नेदेखि गिट्टी कुट्ने काममा सघाउँथेँ।
आर्थिक अभाव कतिसम्म थियो भने त्यतिबेला अलिकति सफा र राम्रो देखिने भनेकै स्कुल ड्रेसमात्र हुन्थ्यो। मामाघर जाँदा होस् वा मेलामा जाँदा स्कुलको सर्ट र मिडी लगाएर जान्थेँ। स्कुल ड्रेस लगाएर जाँदा पनि मेरो लुगा राम्रो छ भन्ने लाग्थ्यो।
सानैदेखि गीत संगीतमा रुचि भएकोले स्कुलका अतिरिक्त क्रियाकलापमा गीत गाउँथे र पुरस्कारसमेत पाउँथे। त्यही पुरस्कार पाएको पैसाले जुत्ता र मोजा किन्थेँ। आफ्नो लागि आफैँ जिम्मेवारी लिने अभ्यास त्यहीबेलादेखि सुरु भयो।
मेरो बुवालाई त्योबेला युद्धमा जानुभन्दा आफ्नो सात सन्तान पाल्नु नै एउटासरह युद्ध थियो। आफ्ना सन्तानलाई दुईछाक कसरी खुवाउने भन्ने युद्ध सबैभन्दा ठूलो युद्ध हो सायद।
त्यो युद्ध जित्न भनेर जब हाम्रा बुवाआमाले हाम्रो परिवारलाई सदरमुकाम ल्याउनुभयो। उहाँहरुले ट्रकको सामान लोड अनलोड गर्ने काम गर्नुभयो। त्यसपछि भारी बोक्ने काम गर्न नसक्ने भएपछि आमाले निगुरो पसल राख्नुभयो।
अहिले फर्किएर हेर्दा ती दिनहरु दुःखभन्दा पनि भर्याङ रहेछ भन्ने लाग्छ।
म दुःखका अग्ला अग्ला भर्याङ चढेर आज यहाँ आइपुगेकी हुँ। मेरो कथा यहाँ दिग्गजहरुसामु भन्न पाउँदा खुसी लागिरहेको छ।
मेरो कथा अभावको मात्र कथा होइन, गीत संगीतको कथा पनि हो। पहिलो पटक कक्षा २ मा पढ्दा पहिलो पटक गीत गाउन पाएँ। भाद्र ४ गते बालदिवस मनाइन्थ्यो। बालदिवसमा कसले गाउन सक्छ भनेर सोध्दा मैले पहिलोचोटी म सक्छु भनेर हात उठाएकी थिएँ।