फुट्यो मेलम्ची खानेपानीको पाइपलाइन, थापाथलीका घरघरमा पस्यो बाढीको भेल

काठमाडौंबाट ललितपुर जाने थापाथली सडक खण्डमा मंगलबार बिहान ५ बजे मेलम्ची खानेपानीको पाइपलाइन फुटेको छ ।


पाइपलाइन फुटेपछि पाइपबाट निस्केको ठूलो प्रेसरयुक्त पानीका कारण सडकका साथै स्थानीयबासीको घर, पसल, होटेल तथा रेष्टुरेन्टमा बाढिको भेल पसेको छ । मेलम्चीको पाइपलाइन कसरी फुट्यो भन्ने बिषय अहिले खुलेको छैन ।

थापाथलीबाट नर्भिक हस्पिटल जाने सडक खण्डमा भएको पाइपलाइन फुटेको थियो । पाइपबाट निस्केको पानीका कारण सडकसमेत भत्किनुका साथै भाँसिएको छ । वरिपरीको सडक पेटी भत्किनुका साथै स्थानीयबासीको घरमा समेत पानी छिरेको थियो ।

सडक भत्केका कारण अहिले उक्त सडक खण्डमा सवारी साधनको ओहोर दोहोर पूर्ण रुपमा ठप्प छ ।

पाइप फुटेको थाहा पाउनासाथै काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारीले गेटभल्भ बन्द गरेकाले ठूलो क्षति हुन भने पाएन ।

यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए । बबर महलमा विद्युत प्राधिकरणको काम गर्ने बेला पाइप फुटेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ