अन्तरजातीय विवाह गरेकाहरु झुटा मुद्दामा कतिन्जेल जेल बस्नुपर्ने हाे सरकार ?

उमेरले ६० वर्ष नाघिसकेकी रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा न. ४ कोइराल खर्ककी लालसरी कमीनीलाई हिँडडुल गर्न पनि लठ्ठीको साहारा लिनुपर्ने अवस्था छ । तर उनलाई जति हिँड्लडु गर्न कठिन छ त्यो भन्दा बढी मन भित्रको व्यथाले पिरोलिरहेको छ। तीनै लालसरी कमिनी रोल्पाबाट छोराको न्यायका लागि राजधानी काठमाडौं आइन् । साथमा छोरी छन् । आमाछोरी सोध्दै सोध्दै, सोमबार रिपोर्टस क्लबमा पुगे । ७ सन्तानलाई जन्म दिएकी उनका एउटा मात्रै छोरा छन् । उनका ६ छोरी छन् । आफ्नो छोराले अन्तरजातीय विवाह गरेकै कारण जबरजस्ती करणीको झुटो मुद्धा लगाएर जेल चलान गरेको उनले दुखेसो पोखिन् । ५ वर्ष अघि श्रीमान गुमाईसकेकी उनी गरिब परिवार अझ त्यसैमा उत्पीडित दलित समुदायको महिला भएकै कारण न्यायका लागि सबै ठाउँ पुग्दा पनि सुनुवाइ नभएपछि राजधानी काठमाडौं झरेको सुनाउछिन् ।

उमेरले २२ वर्ष पुगिसकेका छोरा सरद वि.क. अहिले अन्तरजातीय प्रेम विवाह गरेकै कारण विगत ७ महिनादेखि कारागार जीवन विताइरहेका छन् । छोरालाई सानो जातको भएकै कारण झुटो मुद्धा लगाएर कारागार चलान गरेको उनको भनाइ र दाबी छ । “मेरो छोरा अहिले कारागारमा छ, एक्लै छोरा थियो, त्यहीँ छोरा जेलमा छ, तागत छैन, श्रीमान छैनन्, श्रीमानको मृत्यु भएपछि बुढेसकालको साहारा त्यही छोरा छ भनेर चित्त बुझाएकी थिएँ l मेरो छोरालाई दलित भएकै कारण झुटो मुद्धा लगाएर फसाए” उनले रुँदै आफ्नो दुखेसो सुनाइन् ।
उमेरको उकाली लगेकी लालसरीले काठमाडौं गएपछि न्याय पाइन्छ भन्ने सुनिन् । उनका नजिकका छिमेकीले काठमाडौं गएर घटना बारे जानकारी गराउन भनेपछि छोराले न्याय पाउने आशमा रोल्पाबाट काठमाडौं आएको उनी बताउँछिन् । सोमबार राजधानी काठमाडौंको भृकुटीमण्डप स्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो परिवार र छोरामाथि घटेको घटनाको बेलीविस्तार प्रस्तुत गरिन्  l  
पत्रकार सम्मेलनमा छोराको न्यायका लागि गुहार गर्दै भनिन् “सात महिना देखि कुनैपनि दिनरात आँखा ओभानो छैनन्, राम्रोसँग बोल्न सक्दिन, गाउँका सबैलाई छोराको न्यायका लागि हारगुहार गरें, सदरमुकामसम्म पुगेर हारगुहार गरें, तर तेरो छोरा अब जेल मुक्त हुने कुनै आधार छैन भने, मेरो घरमा जानेबुझेको कोही छैनन्, म गरिब त्यसैमा दलित भएकाले मेरो छोरालाई जेल हालेका छन् l “
उनले आफन्त सबैलाई छोरा दलित भएकै कारण कारगार जीवन बिताईरहेको दुखेसो नसुनाएकी त होइनन् । तर कसैले सुनेनन् । अधिवक्ताहरूले नै उनलाई तपाईको छोरा १०/१२ वर्ष जेलमै बस्छ भनेर प्रतिक्रिया दिए । त्यसपछि आफू विक्षिप्त हुँदै  घर फर्किएको उनले बताइन् । कयौं प्रयासहरू असफल भएपछि अन्तत छोरी रेश्मीलाई साथमै बोकेर राजधानी काठमाडौं आइन् । ६ छोरी मध्य कान्छी छोरी मात्रै अहिले उनको साथमा छन् । जसले ६० वर्षीय वृद्ध आमालाई दोर्याउदै रोल्पाको दुर्गम गाउँदेखि राजधानी काठमाडौं ल्याएर आइन् ।

हाल कारागारमै रहेका छोरा सरदरले कहिलेकाहीँ फोन गर्छन् उनले नै काठमाडौं गएर घटना बारे जानकारी गराए आफूले न्याय पाउने भनेपछि आमा छोरी काठमाडौं आएको लालसरीकी कान्छी छोरी रेश्मीले बताइन् । आफ्नो दाइलाई दलित भएकै कारण जबरजस्त झुटो मुद्धा लगाएर फसाएको उनको जिकिर छ । उनले सुनाइन्,” दाइसँग प्रेस सम्बन्धपछि नै विवाह गर्नुभयो,विवाह गरेपछि तीन महिना घर बाहिरै बस्नुभयो,बिहे अघि पनि भाउजूले आमासँग कुरा गर्नुहुन्थ्यो, तर बिहे गरेको तीन महिनापछि उहाँलाई नै दबाब दिएर जबरजस्ती करणीको मुद्धा हाल्न लगाईयो” अहिले उहाँले अर्को बिहे गरिसक्नु भयो तर मेरो दाइ भने कारागारमा हुनुहुन्छ”

यस घटना बारे के भन्छन् प्रहरी ?
घटना बारे जिल्ला प्रहरी कार्यालय प्युठानमा बुझ्दा प्रहरी निरीक्षक केशब केसीले जबरजस्ती करणीको आरोपमा मुद्धा चलिरहेको जानकारी दिएका छन् । प्रहरी निरीक्षक केसीका अनुसार प्युठानकी परिवर्तित नाम (५२) ३ ले सरद वि. क बिरुद्ध जिल्ला प्रहरी कार्यालय प्युठानमा गत भाद्र ११ गते जाहेरी दिएकी थिइन् । पछिल्लो दिन भाद्र १२ गते उनको जाहेरी दर्ता भएको थियो । तर आरोपित सरद विकलाई भने प्रहरीले अघिल्लो दिन ११ गते नै नियन्त्रणमा लिएको प्रहरी निरीक्षक केसीले बताए । जाहेरी दर्ता गर्ने किशोरी र आरोपित सरद वि.क ज्याला मजदुरी गर्ने क्रममा स्याङ्जामासँगै  बस्ने गरेको तर विवाह गरेको भन्ने आफूहरूलाई जानकारी नभएको प्रहरीको जिकिर छ ।

विद्यालयबाट साथीहरूको साथमा फर्किरहेकी किशोरी परिवर्तित नाम (५२) ३ लाई हाल कारागारमा रहेका आरोपित सरद विकले बीच बाटिमै रोकेर हातपात गरेपछि छिमेकीले प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक केसी बताउन्छन् । सोही दिन किशोरीले जाहेरी दिएको प्रहरी निरीक्षक केसीको भनाइ  छ । किशोरीले दिएको जाहेरीमा त्यो भन्दा अगाडिसमेत मामाघर जाँदा चिनजान भएको र कुराकानी हुँदा जाँदा एक दिन सपिङ गर्दिने भन्दै बोलाएर जङ्गलमा लिएर जबरजस्ती करणी गरेको उल्लेख गरिएको पनि जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
तर यता हाल कारागारमा रहेका सरद विककी आमाले भने सोमबार राजधानी पुगेर तीन महिनासम्म विवाह गरेर स्याङ्जा बसेको दाबी गरेकी छन् । प्रेम सम्बन्ध पछिको विवाहलाई जात नमिलेकै कारण बनावटी झुटो मुद्धा हालेको उनको दुखेसो छ । प्रहरीले भनेको कुरामा केटा पक्ष सहमत छैनन् । यो सबै केटी पक्षको फसाउने षड्यन्त्र भएको केटा पक्षको ठम्याइ छ । यता प्रहरीले भने उमेर नै नपुगेको किशोरीको हकमा कानुनले प्रेम वि =वाहको परिकल्पना नै नगर्ने यदि प्रेम सम्बन्ध पछि विवाह नै भएको अवस्थामा पनि उक्त वि वाह स्वत: बदर मानिने दाबी गरेको छ ।
यस्तो छ घटनाको नालिबेली :
६० वर्षीय लालसरीका छोरा सरद र छिमेकी जिल्ला प्युठानकी परिवर्तित (नाम (५२) ३) नाम गरेकी  बिच लामो प्रेम सम्बन्ध थियो । उनीहरू एक अर्कालाई धेरै माया गर्थे । आफूहरू  बीच प्रेम सम्बन्ध रहेको  विवाह वाह गर्ने कुरा सरदले सुनाएका थिए । परिवर्तित नाम (५२) ३ ले समेत फोन गर्थिन् । छोराको कुरा सुनेपछि अन्तरजातीय प्रेम सम्बन्धका कारण धेरै ठाउँमा अप्रिय घटना घटेको कुरा लालसरीले सुनेकी थिइन् । छोराले ठुलो जातको केटीसँग विवाह गर्ने भनेपछि उनको मनमा चिसो पसिसकेको थियो । लालसरीलाई त्यहीँ दिनदेखि चिन्ताले पिरोल्न थालिसकेको थियो ।
उनले छोरा सरदलाई हामी सानो जातको मान्छेले ठुलो जातको सँग बिहे गर्दा स्विकार्दैनन् भोलिका दिनमा अप्रिय  घटना हुन सक्ने बताउदै छोरालाई बारम्बार सम्झाइन् । तर गहिरो प्रेम सम्बन्धमा रहेका छोरा सरदले मानेनन् । छोरासँग  प्रेम सम्बन्धमा रहेकी परिवर्तित नाम (५२)३ले पनि पटकपटक फोन गरेर आफूलाई आमा भनेर कुरा गर्थिन् । कुराकानी मात्रै होइन आफूहरू  एकअर्काबिना बाँच्न नसक्ने भन्दै जसरी पनि विवाह गरेरै छाड्ने, बुढेसकालको तपाईको साहार मनै हो आमा भनेर आश्वासन पटकपटक दिएको लालसरीले विगत स्मरण गर्दै सुनाईन् ।
हाल कारागारमा रहेका सरदकी आमालाई भने मनमा खुसीभन्दा बढी त्रास थियो । त्योबेलादेखि नै बेला बेला रुकुमको घटना सम्झिने गरेको उनले बताइन् । गहिरो प्रेम सम्बन्धमा रहेका सरद र परिवर्तित नाम (५२)३ले लामो समय पछिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने निधो गर्छन् । परिवारले स्विकार्दैनन् भन्ने कुरा जानकारी हुँदाहुँदै पनि उनीहरूले गत वर्ष फागुनको महाशिवरात्रीको दिन भागेर विवाह गरे ।
दाइको न्यायका लागि काठमाडौं पुगेकी सरदकी बहिनी रेश्मीका अनुसार अन्तरजातीय विवाह गरेका उनीहरू समाजले स्वीकार नगर्ने त्रासले तीन महिना स्याङ्जामा गएर बसे । सरदसँग विनवाह गरेकी सुस्मिताको माइती घरमा दुई आमा छन् । केटीले नै सरद बिना आफू बाँच्न नसक्ने र छुटायो भने आत्महत्या नै गरिदिने बताएपछि जेठी आमाले उनीहरू को बिवाहलाई स्वीकार गरिसकेकी थिइन् । उनीहरू आउने जाने गरिरहन्थे । तर तीन महिनापछि कान्छी आमाले जात नमिलेको भन्दै परिवर्तित नाम (५२)३ले जबरजस्ती करणीको झुटो मुद्धा दर्ता गर्न दबाब दिएर जबरजस्त मुद्धा दर्ता गर्न लगाएको रेश्मीले बताएकी छन् ।
५ वर्ष अघि श्रीमानको मृत्यु भयो । एकल महिलाको भत्ताले गुजारा चलाईरहेकी उनको बुढेसकालको साहारा छोरा सरद नै थिए । ” न दिनमा भोक छ, न रातमा निन्द्रा नै छ, अब तेरो छोरा १०/१२ वर्षका लागि जेल गैसक्यो भनेर गाउँलेले भन्छन्, अनि हाँगाबाट खसेजस्तै हुन्छु म, आफ्नो भन्नू कोही छैनन्, न पासमा पैसा छ, भएको जग्गा जमिन पनि जरिवाना तिर्न पुग्दैन भन्छन्, कहाँबाट तिर्ने हो मैले, बिहान बेलुका छाक टार्न त मुस्किल छ, न त धनसम्पती छ, नत पैसा नै छ मसँग ,उनीहरू,पैसा, पहुँच भएकाहरू हुन् ,छोराको चिन्ताले मर्ने अवस्थामा पुगेकी छु,उनले रुदै आफ्ना बिलौना पोखिन् ।
पत्रकार सम्मेलनमा दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार पनि सहभागी थिए । उनले पनि न्यायका लागि काठमाडौंसम्म पुगेकी लालसरीको छोरालाई न्याय दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्युठानमै पुगेर घटना बारे जानकारी लिने र दलित भएकै कारण देशभरका कारागारमा जेल जीवन बिताईरहेका सबैको न्यायका लागि ७७ वटै जिल्लाका कारागारमा जाने तयारीमा रहेको पनि खगेन्द्र सुनारले जानकारी दिएका छन् l  दलितको न्यायको लागि आफू लडने आश्वासन सुनारले रिपोर्टस क्लबको पत्रकार सम्मेलन मार्फत दिएका थिए l 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ