अगस्ट 1, 2025

भारतीय टेलिभिजनमा नेपालकाे आन्तरिक मामिलामा खुलेआम बहस

काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत रणजित रायले नेपालको राजसंस्था पुनर्स्थापन हुनु भारतको हितमा नहुने तर्क गरेका छन् । एक टेलिभिजन बहसमा भाग लिँदै उनले राजसंस्थासँग भारतको विगतमा राम्रो सम्बन्ध नरहेको स्मरण गरे ।
नेपाल आएका भारतीय राजदूतहरूमध्ये सर्वाधिक चर्चित र विवादितमा पर्छन् राय । भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा उनी राजदूत थिए । उनी नेपाली राजनीतिभित्र घुसेर अनेक चलखेलहरू गर्ने गर्थे । पछि उनले नेपालकै राजनीतिकलाई केन्द्रमा राखेर ‘काठमाडौं डेलीमा’ नाम पुस्तक पनि लेखे ।

इन्डिया टिभीको ‘कफी पर कुरुक्षेत्र’ नामक टक शोमा उनै रेसहित दुई कथित ‘नेपाल विज्ञ’ सहित प्रस्तुत भएका थिए । सुरुमै रञ्जित रेलाई राजा ज्ञानेन्द्रका विषयमा सोधियो । रेले ज्ञानेन्द्रलाई एक निरंकुश राजाको रूपमा चित्रण गरे ।

उनले भने, ‘राजा ज्ञानेन्द्र आफ्नो पिता महेन्द्रले जस्तै तानाशाही राजतन्त्र ल्याउन चाहन्थे । संवैधानिक नभएर कार्यकारी राजतन्त्रको लोभ पालेका थिए । एक पटक उनले निरंकुश सत्ताको अभ्यास गर्न खोजे । तर, माओवादी र राजनीतिक दल एकबद्ध भएर राजालाई हटाइदिए । २००६ मा राजा र दलहरुबीच सम्झौता भएको थियो । २००८ मा औपचारिकरुपले हटाइयो । त्यसबेला नेपालमा ठूलो आन्दोलन भएको थियो ।’

रेपछि अर्का अतिथि प्रदीप सिंहले केही ऐतिहासिक प्रसंग निकाले । विगतमा नेपाल हिन्दू राष्ट्र रहेको तत्कालीन भारतीय प्रधानमन्त्री नेहरुलाई मन नपरेको उनले सुनाए । राजपरिवारले भारतसँग निकट हुन नसकेपछि चीनतिर फर्किएको उनको भनाइ थियो ।

सिंहले नेपालमा भएको माओवादी आन्दोलन भारतले गराइदिएको पनि दाबी गरे ।

उनले भने, ‘माओवादी आन्दोलनमा भारतीय खुफिया एजेन्सी रअको ठूलो योगदान छ । भारतले यो आन्दोलन चलाएको थियो ।’ अन्तरवार्ताकारले छक्क पर्दै सोध्छन्, ‘भारतले माओवादी आन्दोलन चलाएको हो ?’ सिंहले जवाफ दिए, ‘बिलकुल हो । माओवादी नेताहरूले भारतमै आश्रय लिएका थिए । सिताराम यचुरी माओवादीका सबैभन्दा ठूला सल्लाहकार थिए ।’

राजाको पालामा लगाएको नाकाबन्दी उनले सम्झिए । उनको भनाइमा नाकाबन्दी लगाउनुका दुई कारण थिए ।

‘राजीव गान्धी १९८७ मा सार्क सम्मेलनमा नेपाल गएका थिए । १९८८ मा फेरि गए सोनिया गान्धीलाई लिएर । त्यसबखत उनी श्रीमतीसहित पशुपतिनाथ मन्दिरको दर्शन गर्न चाहन्थे । तर, गैर हिन्दूले पशुपतिमा प्रवेश नपाउने भनेर सोनियालाई प्रवेश गर्न दिइएन । त्यसपछि उनले राजालाई फोन गरे । राजाले पशुपतिको परम्परामा आफूहरूले दक्खल दिन नमिल्ने बताए । राजीव गान्धीलाई यो अपमानजनक लाग्यो । त्यसपछि भारतले नेपालमा ब्लकेड गरिदियो । नाकाबन्दी लगाउनुको अर्को कारण चाहिँ राजाले चीनबाट महँगा हतियार खरिद गर्नु पनि थियो,’ उनले व्याख्या गरे ।

हालका प्रधानमन्त्री केपी शर्मा ओली चीनको काखैमा बसेको टिप्पणीसमेत सिंहले गरे । आज नेपाल भारतभन्दा चीनसँग नजिक रहेको उनको दाबी थियो ।

पूर्वराजदूत रेले भने ऐतिहासिक रूपमा नै राजसंस्थासँग भारतको राम्रो सम्बन्ध नरहेको बताए । राजाले नेपालमा बहुदलीय प्रजातन्त्र समाप्त गरेको र चीनबाट एन्टी एयरक्राफ्ट गन खरिद गरेकोले भारत चिढिएको उनको भनाइ छ ।

१९६० मा राजा महेन्द्रले सत्ता हातमा लिएपछि भारतले आलोचना गर्‍यो । त्यसपछि नेपाल चीनतिर ढल्किएको हो । त्यहाँ ‘एन्टी इन्डिया राष्ट्रवाद’ वा ‘पहाडी राष्ट्रवाद’ हाबी छ । सन् २००५ मा ज्ञानेन्द्रले सत्ता लिएपछि सार्क सम्मेलन ढाकामा भएको थियो । ज्ञानेन्द्रले त्यहाँ चीनलाई सार्कको सदस्य बनाउने प्रस्ताव गरे ।’

‘नेपालमा राजसंस्था आउनु नेपालको हितमा हुन्छ जस्तो मलाई लाग्दैन । नेपालमा हिन्दू राष्ट्र र राजसंस्था ऐतिहासिकरुपमा अन्तरसम्वन्धित छन् । मेरा नेपाली मित्र विजयकुमार पाण्डे भन्नुहुन्थ्यो कि हिन्दु राष्ट्रको ट्रेनको अन्तिम डिब्बामा राजसंस्था छ । किनकी राजा आफूलाई विष्णुको अवतार मान्छन् । आज नेपालमा बिनाराजाको हिन्दू राष्ट्र बनाउने चर्चा चलिरहेको छ । भारतले धेरै वर्षदेखि संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई नेपालका दुई पिल्लर मान्दै आएको थियो । तर, राजाले बहुदलीय प्रजातन्त्र समाप्त गर्ने प्रयास गरेर सत्ता हातमा लिएपछि एउटा मात्रै पिल्लर रह्यो । नेपालमा ठूलो आन्दोलन भयो, जसलाई भारतले साथ दियो,’ उनले सुनाए ।

नेपालमा राजसंस्था समाप्त हुनुको मुख्य कारण राजा आफैँ भएको रेले तर्क गरे । उनी थप्छन्, ‘हामी सधैँ नेपाली जनताको साथमा थियौँ । राजपरिवार हुँदासम्म दुईपिल्लरको नीति लियौँ । तर राजतन्त्रविरुद्ध जनता सडकमा आएपछि भारतले आफ्नो नीति बदलिएको हो ।’

One thought on “भारतीय टेलिभिजनमा नेपालकाे आन्तरिक मामिलामा खुलेआम बहस”

CasinorBeply’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ