Nepal Viral
जुलाई 27, 2025

राष्ट्रिय सडक सञ्जालमा जोडियो हुम्ला सदरमुकाम सिमकोटः२६ वर्षपछि पूरा भयो हुम्लीको सडक सपना

काठमाडौं । हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोला कर्णाली नदीमा निर्मित बेलिब्रिजको उद्घाटन गरेसँगै सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । पक्की पुल निर्माण गर्न समय लाग्ने भएपछि नेपाली सेनाको १४ नं बाहिनीले चुवाखोलामा बेलिब्रिज निर्माण गरेको हो । गत वर्ष चैत अन्तिम साता नेपाली सेनाले कर्णाली करिडोरअन्तर्गतको २ सय ८६ किलोमिटर ट्रयाक खोलेपछि सिमकोटसम्म यातायातका साधन चल्न थालेका थिए । तर चुवाखोलामा पुल नहुँदा हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको थिएन ।

‘अब भारतीय सहर रुपैडिहाबाट चीन सीमास्थित हिल्सासम्म एउटै गाडीमा जान सकिने भएको छ,’ हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले भने, ‘पुल नहुँदा यसअघि ३ खण्डखण्डमा गाडी सञ्चालन गर्नुपरेको थियो, यात्रुहरू चर्को भाडाको मारमा थिए ।’ उनका अनुसार भारतीय सहर रुपैडिहाबाट चीन सीमासम्मको हिल्सासम्मको दूरी करिब ५ सय ५ किलोमिटर छ । कालीकोटको खुलालुबाट सुरु हुने कर्णाली करिडोरले बाजुरा र हुम्लालाई समेत जोडेको छ । पुल बनेसँगै हुम्लीको सडक सपना २६ वर्षपछि पूरा भएको छ ।

सिमकोट–हिल्सा सडक आयोजना कार्यालयका अनुसार २०५४ सालमा हुम्लामा भोकमरीसँगै फैलिएको भाइरल इन्फ्लुएन्जाबाट करिब ५० स्थानीयले ज्यान गुमाएपछि खाद्यान्न अभावको स्थायी समाधानका लागि तत्कालिन जिल्ला विकास समितिले चीनसँग सडक जोड्ने योजना बनाएको थियो ।

२०५७ सालमा जिविसको आन्तरिक स्रोतको प्रयोग गरी सिमकोट–हिल्सा सडक खन्न सुरु गरिएकोमा ०५८ सालबाट सडकलाई विश्व खाद्य कार्यक्रमले ‘कामका लागि खाद्यान्न कार्यक्रम’ सञ्चालन गरी निरन्तरता दियो । त्यस्तै २०५९ सालदेखि ०६५ सालसम्म जिविसले ६ करोड ८० लाख रुपैयाँ खर्च गरी फेरि सडक निर्माणलाई निरन्तरता दिए पनि तीव्र गतिमा काम हुन नसकेपछि एक्स्काभेटर खरिद गरी सडकको काम गरिएको आयोजनाका सूचना अधिकारी ओमप्रकाश कोहारले बताए ।

सडक निर्माणका लागि संघीय सरकारले २०६९ साल चैत्रमा हिल्सा–सिमकोट सडक आयोजना कार्यालय स्थापना ग¥यो भने २०७१ साल चैत्र ५ गतेदेखि सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको थियो । नेपाली सेनाले झन्डै १० वर्ष लगाएर सडकको गत वर्ष चैत अन्तिम साता ट्य्राक खोलेको थियो । सडक निर्माणमा झन्डै ७ अर्ब रुपैयाँ खर्च भएको इन्जिनियर कोहारले जानकारी दिए ।

कर्णाली करिडोरको पूर्णता पाएसँगै समग्र कर्णाली प्रदेशको विकासमा टेवा पुग्ने अपेक्षा रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताए । सडक बनेसँगै चीनको हिल्सादेखि कर्णालीका अधिकांश जिल्लाको सम्बन्ध भारतको रुपैडियासम्म जोडिएको छ । ‘अब चीन र भारतसँग सम्बन्ध स्थापित गरी व्यावसायिक फाइदा लिन सकिन्छ,’ उनले भने, ‘अन्य विकासका पूर्वाधार निर्माणमा पनि सहज हुन्छ, रोजगारीसककगै आर्थिक कारोबार बढ्ने अवस्था छ ।’

कर्णालीको पर्यटन, पूर्वाधार निर्माण, रोजगारी र आर्थिक विकाससँग यो सडकको महत्त्व रहेको नागरिक अगुवा दुर्गाप्रसाद सापकोटाले बताए । ‘सरकारले छिट्टै कूटनीतिक पहल थाली यो सडकलाई व्यापारिक मार्गका रूपमा विकास गर्न जरुरी छ,’ उनले भने, ‘जसले पर्याप्त रोजगारीका अवसर सिर्जना गरी स्थानीय उत्पादनको बजारीकरण गर्न सहयोग पुग्छ ।’

कर्णाली करिडोरअन्तर्गत अहिले दुई योजना कार्यालयमार्फत सडक स्तरोन्नतिको काम भइरहेको छ । दक्षिण खण्ड (खुलालु–सलीसल्ला) मा १ सय २३ र उत्तरखण्डअन्तर्गत सलीसल्ला–हिल्सा सडक योजनामा १ सय ४६ किलोमिटरमा स्तरोन्नतिको काम भइरहेको हो ।

पिलिचौर–तुम्च, तुम्कोट–हिल्सा, एलबाङ–छ्याछडा, छ्याछडा–हेक्पाखोला, कुवाडी–तुम्च गरी ५ खण्डमा सडक सडक चौडा बनाउने, टेवापर्खाल लगाउने, ग्राभेल र कालोपत्रसम्मका काम जारी रहेको खुलालु–सल्लीसल्ला सडक योजना कार्यालयका प्रमुख तुलाराम शर्माले बताए । उनका अनुसार झन्डै ३ अर्ब रुपैयाँ बजेटबाट सडक स्तरोन्नतिको काम भइरहेको छ । करिडोरअन्तर्गत दक्षिण खण्डमा ६ र उत्तर खण्डमा ४ गरी १० खोला तथा कर्णाली नदीमा बेलिब्रिज निर्माण भएका छन् ।

One thought on “राष्ट्रिय सडक सञ्जालमा जोडियो हुम्ला सदरमुकाम सिमकोटः२६ वर्षपछि पूरा भयो हुम्लीको सडक सपना”

Tupi Tea’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ