जेनजी पुस्ता पहरेदारी भूमिकामा बस्न आवश्यक

मिमबहादुर परियार


जेनजी अर्थात जेनरेसन जेड, एक उमेर समूहको पुस्ता हाे । सन् १९९७ देखि २०१२ भित्र जन्मेका व्यक्तिहरु जेनजी पुस्ताको रूपमा चिनिन्छन् । नेपाली राजनीतिक वृत्त वि.स. २०८२ भदौ २३ र २४ मा भएको जेनजी पुस्ताकाे विद्रोहले ठुलो परिवर्तन ल्याउन सफल भयो । पुराना राजनीतिक दल र नेताकाे स्वार्थले भरिएको रवैयाबाट आजित जेनजी पुस्ताले विद्रोहकाे करिब २७ घण्टाकाे अवधिमा  एमाले काङ्ग्रेसकाे बलियो सरकार विगठन गराउन सफल भयो  । जेनजी पुस्ताकाे मागबमोजिम नेपालमा संविधानभन्दा बाहिर रहेर आवश्यकताकाे सिद्धान्तबमोजिम सुशीला कार्कीकाे नेतृत्वमा  अन्तरिम चुनावी सरकार गठन भयाे । अहिले प्रधानमन्त्री सुशीला कार्की मन्त्री नियुक्ति प्रक्रियामा व्यस्त  हुनुहुन्छ । मन्त्री नियुक्ति प्रक्रियामा कस्ताकस्ता व्यक्ति मन्त्रीमा नियुक्त हुनुपर्छ भन्नेमा बहस देशभर चलेको छ । 

धेरैले जेनजीकाे विद्रोहबाट स्थापित सरकार  वृद्ध ७०-७२ उमेरका मन्त्री , प्रधानमन्त्री नियुक्त हुँदा असहमति जनाएका छन् । कतिले युवा अर्थात जेनजी नै मन्त्रीमण्डलामा  हुनुपर्छ भन्ने तर्क पनि अघि सारेको देखिन्छ । केहीले जेनजी प्रतिनिधिका लागि सरकारमा उपस्थित हुने याे उपयुक्त समय हाेइन भनेका छन् ।

वास्तवमा अहिलेकाे अन्तरिम सरकारमा जेनजीकाे सहभागिताकाे लागि त्यति उपयुक्त हाेइन । याे समय राजनीतिक हिसाबले संवेदनशील तथा चुनाैतीका पहाडले भरिएको समय हाे । वर्तमान सरकारसँग थुप्रै चुनाैती छन् । ती चुनाैतीसँग जेनजी पुस्तालाई पाैठेजाेरी खेल्न सकस अवश्य पर्नसक्छ । अर्काे कुरा जेनजी पुस्ता तुरुन्तै सरकारमा जाँदा उनीहरूका निम्ति  काम गर्न अप्ठ्यारो पनि देखिन्छ । न उनीहरूसँग राजनीतिक तथा प्रशासनिक ज्ञान छ । मिडियामा आएका जेनजी पुस्ताका अगुवाहरुकाे वक्तव्य हेर्दा उनीहरूमा नेपाली समाज , कानुन , अवस्था र विविधतालाई हेर्ने , बुझ्ने , मुल्याङ्कन गर्नसक्ने क्षमता कम भएको पुष्टि हुन्छ । सरकार अथवा क्याविनेटमा हल्ला गरेरमात्रै हुँदैन । त्यहाँ सिङ्गो राष्ट्र , अन्तर्राष्ट्रिय समुदायसँग सन्तुलित कुटनैतिक तवरबाट काम गर्नुपर्ने क्षमता चाहिन्छ ।

  के यी यावत काम गर्नसक्ने क्षमता अहिलेका कति जेनजी प्रतिनिधिसँग छ ? त्यस्तै समय र कामकाे आधारमा  सुशीला कार्की नेतृत्व सरकारकाे आयु र कर्तव्य  सिमित रहेको छ । फागुन २१ गते चुनाव सम्पन्न भयो भने याे सरकार स्वत विगठन हुन्छ । त्यसकारण याे सङ्क्षिप्त संक्रमणकाली वर्तमान संवेदनशील समयमा जेनजी पुस्ता सरकारमा भन्दा बाहिर रहेर अन्तरिम सरकारलाई खबरदारी गर्दै जनचाहनाअनुसार , जेनजीका राम्रा मागलाई सम्बाेधन गराउने तर्फ लाग्नुपर्छ । समाज राष्ट्र विरोधी काम गर्नेलाई सचेत गराउनतर्फ लाग्नुपर्छ ।

हुनत: मानिस स्वभावले शक्तिको भाेकाे हुन्छ । ऊ जसरी पनि शक्ति आर्जन गरि आफ्नो बलियो उपस्थिति देखाउन चाहान्छ । मनाेविज्ञान , मानवशास्त्र र समाजशास्त्रले यसको पुष्टि गरेको छ । अहिलेकाे परिपाटीमा केही शक्ति र नामका भाेका  जेनजीलाई सरकारमा जाने रहर हाेला । मन्त्रीकाे उपमा पाउने मन हाेला । जेनजी विद्रोहका कारणले , वर्तमान माहोलले जेनजी अगुवा , केही टाँठाबाँठालाई मन्त्री हुन सजिलो  रहेको देखिन्छ । तर वर्तमान राजनीति परिपाटी र अवस्था  हेर्दा जेनजीलाई सरकारमा जानु उपयुक्त देखिँदैन । पहिला जेनजीले आफूलाई राजनीतिक रुपमा परिपक्व गर्नुपर्छ । समाज , दर्शन , चिन्तन , सामाजिकआर्थिक क्षेत्रकाे ज्ञान लिनुपर्छ । आगामी चुनावका लागि आफूलाई परिपक्व बनाउनुपर्छ । ताकि भाेलि चुनावमा जित्न सकियोस् , संसदमा  पाँच वर्षको लागि बलियो उपस्थिति देखाउन सकियोस्  र आफ्ना याेजनालाई पूरा गराउन सक्ने ठाउँसम्म पुग्ने माहोल तयार बनाउनुपर्छ । यसको साथसाथै पुरानो दललाई निर्वाचनमा चुनाैती दिनसक्ने रणनीति बुन्न पनि आवश्यक छ ।

सर्सरती जेनजी पुस्ताको आवाज सुन्दा उनीहरूका  सपना विशाल छन् । उनीहरूका चाहाना धेरै छन् । देशभित्र सुशासन कायम गर्ने, भ्रष्टाचार समाजिक ब्यथितिकाे अन्त्य गर्ने लगायतका महत्त्वपूर्ण र गर्नुपर्ने काम जेनजीले आफ्नाे कामको सूचीमा समावेश गरेको छ । त्यसको लागि याे छ महिनाको  अवधि पर्याप्त नहुनसक्छ । अहिले नेपाल पूर्णरूपमा राजनीतिक  संक्रमणकालीन अवस्थामा छ । राजनीति हिसाबले यहाँ जतिबेला जे पनि हुनसक्छ । देशीविदेशी शक्तिकाे चलखेल , पुराना राजनीतिक दलको असन्तुष्टि , राजावादी लगायतका नेपालमा अस्थिरता चाहाने शक्ति हावी भएको समय हाे । यस्तो जटिल र तरल अवस्थामा नयाँ अझ युवा शक्तिलाई याे कालखण्डमा काम गर्न असहज हुने देखिन्छ । यदि जेनजी पुस्ता अहिले सरकारमा गयो भने , काम गर्नसक्छ ? बजारमा आएका केही जेनजी पुस्ता सरकारमा आफ्नो उपस्थिति चाहान्छ । थरीथरीका जेनजी गुट देखिएका छन् । जेनजी बिचमा पक्ष विपक्ष देखिन सुरु भैसकेको छ । यस्तो अवस्थामा जेनजी पुस्ता आफ्नो भागका लागि  लड्छ भने त्यो जेनजी र समग्र राष्ट्रका लागि घातक हुनेछ । उनीहरूका विरोधीका लागि चलखेल गर्ने माैका सिर्जना हुनेछ  । त्यसकारण वर्तमान राजनीतिक अवस्थामा जेनजीका लागि सरकार नजानु नै फलदायी  देखिन्छ । जेनजीले शक्ति प्राप्तिको लालचलाई त्यागेर आफूलाई लामाे रेस अथवा प्रतिस्पर्धाका लागि तयार गर्नुपर्छ । नकि भागभण्डाकाे खेलमा ।

जेनजी पुस्ताले आफूलाई स्थापित गर्नकाे लागि आफूभित्र केही सुधार र चिन्तनको विकास अपरिहार्य रुपमा गर्नुपर्छ । अहिले केही जेनजीकाे विचार हेर्दा बिना सुझबुझ विचार सम्प्रेषण गरेको देखिन्छ । त्यस्तै केही संवेदनशील मुद्दा जस्तैः समावेशी-समानुपातिक  , धर्मनिरपेक्षता, सङ्घीयता विषयमा उनीहरूकाे ज्ञान बुझाइमा कमि देखिएको छ । नेपाल जस्ताे समाजिक सांस्कृतिक भाषिक विविधताले भरिएको मुलुकमा जहाँ सदियाैंदेखि केही समुदाय जातको कारणले  विभेदको भुमरीमा बस्न बाध्य छन् । केही समूह लिङ्ग , भूगोलकाे कारणले पछाडि पारिएको छ । यस्तो अवस्थामा कसैले संवेदनशील मुद्दामा  सस्तो रुपमा टिकाटिप्णी गर्छ भने त्यो समग्रमा राष्ट्रका लागि घातक हुन्छ । विगतका राजनीतिक परिवर्तनबाट स्थापित उपलब्धिलाई जेनजी पुस्ताले नजरअन्दाज गर्छ उक्त कार्य जेनजी पुस्ताका निम्ति  राम्रो सङ्केत नहुने देखिन्छ । सामाजिक राजनीतिक विविधताका मुद्दा तथा घटनामा सजगता अपनाउन  पनि जेनजीमा परिपक्वताकाे आवश्यकता रहन्छ । नेपाल राष्ट्र बुझ्न आवश्यक छ ।

अन्त्यमा  जेनजी पुस्ताबाट वर्तमान समयमा धैर्यता , समाज अध्ययन र परिपक्वता चाहिएको छ । उनीहरू अहिले नै सरकारमा जान हतार गर्नु हुँदैन । विगतमा सरकार जान हतार गरेकाकाे अवस्थाबाट पनि जेनजी पुस्ताले पाठ सिक्न आवश्यकता देखिन्छ । जेनजी पुस्ता सस्तो लाेकप्रियताकाे लागि समाजिक सञ्जालमा भाइरल कन्टेन्ट बन्नु हुँदैन । जथाभावी विना अध्ययन विचार प्रस्तुत गर्ने  गतिविधि जेनजी स्वयमकै लागि घाटा हुन जान्छ । नेपाली जनताले अहिले जेनजीमाथि ठुलो आशा भराेसा राखेका छन् । परिवर्तन तथा सुशासनका संवाहक मानेका छन् । जेनजी वर्तमान अवस्थामा सजग रहेर राष्ट्रकाे वाचडग अर्थात पहरेदारकाे भूमिका निर्वाह गर्नुपर्छ  । राज्यका तीनवटै अङ्ग कार्यपालिका , न्यायपालिका , व्यवस्थापिकाकाे पहरेदार भएर काम गर्नुपर्ने देखिन्छ । राष्ट्रमा अहिले  जेजति समस्या सृजना भएका छन् यिनै तीन मुख्य निकायको फितलो उपस्थितिका कारणले भएको देखिन्छ ।राष्ट्रमा देखिएको  फितलो अवस्थालाई सुधार्न  जेनजी पुस्ताले राज्यका महत्त्वपूर्ण अङ्गमा आफ्नो निगरानी , चेक एण्ड व्यालेन्सकाे रणनीति निर्माण गरेर काम गर्नुपर्ने हुन्छ ।

15 thoughts on “जेनजी पुस्ता पहरेदारी भूमिकामा बस्न आवश्यक”

mitolyn’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ