मिम बहादुर परियार

हिजो बिहानैदेखि सुशीला कार्की सरकारमा चार मन्त्री नियुक्त हुँदै ,समाचार मिडियामा प्रकाशन भयो । मन्त्री हुनेहरूमा खगेन्द्र सुनारको नाम पनि समावेश भएको थियो । उनलाई श्रम तथा राेजगार मन्त्री दिइने र दिउँसो सपथ हुने सूचना थियो । उक्त सूचना प्रकाशन भएको केही घण्टामा खगेन्द्र सुनारसँग सम्बन्धित थुप्रै समाचारकाे बाढी आएको थियो । केहीले उनलाई अदालतकाे मानहानी मुद्दा रहेको , केहीले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको लगायतका थुप्रै पुष्टअपुष्ट ब्रेकिङ न्यूजकाे रुपमा दिनभर एकपछि अर्को फलाेअप न्यूजकाे रुपमा खगेन्द्र विरुद्ध प्रकाशन गरिरहेका थिए । अन्ततः मध्यान्ह खगेन्द्रकाे नाम मन्त्रीबाट फिर्ता समाचार आएपछि सबै मिडिया चुपचाप लागेका थिए । वास्तवमा खगेन्द्र सुनार काे हुन् त ? मिडियाले लेखेका सबै कुरा ठिक छन् ?

कर्नाली प्रदेश दैलेख घर भएका ३५ वर्षीया खगेन्द्र सुनारकाे अहिलेकाे परिचय दलित अभियान्ता हाे । उनी “दलितका लागि दलित” अभियानका संयाेजकसमेत हुन् । उनको नेतृत्वमा दलितका लागि दलित अभियान ,नेपाल र भारतमा कमिटीहरु गठन भइरहेका छन् । उनीलगायत उनको समूह राष्ट्रव्यापी अभियानमा लागिरहेको छ । त्यस्तै खगेन्द्र काठमाडौंका सडकमा शरीरभरि फालामकाे नेल बाँधेर” दलितलाई खै ? ” प्लेकार्ड समातेर राज्यलाई दलित समुदायको प्रतिनिधित्वकाे मुद्दामा झकझकाइ रहेका हुन्छन् । खगेन्द्र तिनै व्यक्ति हुन् , रुकुम नरसंहारकाे मुद्दामा जब सुर्खेत उच्च अदालतले उक्त घटनाको मुख्य कारण जातीय छुवाछुतलाई किनारा लगायाे त्यसका विरुद्धमा बाेलेका थिए । अदालतले गेटमा उभिएर न्यायालयको फैसला आम दलितका भावना विरुद्ध छ भनी नाराबाजी गरेका थिए । खगेन्द्र दलित तथा जातीय छुवाछुतका मुद्दामा सामाजिक सञ्जाल तथा भाैतिकरुपमा खबरदारी गरिरहेका हुन्छन् । दलितका मुद्दामा पछिल्लो समय उनी सबैले देखिने गरि सक्रिय छन् ।

खगेन्द्र सुनार रुकुम नरसंहार यता दलित मुद्दामा सक्रियरुपमा लागि परेका अभियान्ता हुन् । दलितका मुद्दामा बाेलिरहँदा केही अपाच्य शब्द तथा गैरकानुनी वाक्य उनीबाट आएको अवस्य हाे । समुदायको मुद्दामा वकालतकाे बखत आवेग र आक्राेशमा भएका गल्तीमा उनी सच्चिनुकाे विकल्प छैन । हिजो दिनभर उनी विरुद्ध जुन तरिकाबाट कथित मुलधारका मिडियाबाट समाचार आए त्यसमा कहिनकतै न्यूजरूममा मनुवाद हावि भएको देखिन्छ । अर्को कुरा हिजो नाम आएका चारै जना पात्र दूधले नुहाएका काेही थिएनन् । बब्लु गुप्तमाथि अपहरणको मुद्दा रहेको यिनै मिडियाले लेखेकै थियो । गणपतिलालकाे हकमा सम्पदा संरक्षणकाे नाममा रैथानेलाई दुख दिएर व्यापारीलाई जग्गा विक्रि गर्न बाध्य बनाएका घटनामा किन खगेन्द्रमाथि खनिने मिडिया माैन रह्यो ?


दिनभरकाे उताबचडाब पछि अन्ततः हिजो साँझ प्राइम टेलिभिजनमा दिनभर मिडियामा आएका सामाग्रीका सवालमा खगेन्द्र सुनारले दिइएको उक्त अन्तर्वार्तामा उनले केही तथ्यसहित प्रस्तुत भएका छन् । सुनारका अनुसार मिडियामा आए जेजति मुद्दा सत्य भई त्यसको पुष्टि भए जेल जानपनि तयार रहेको बताएका छन् । खगेन्द्रमाथि दिनभर मिडियामा समाचार आइरहँदा, मिडियाले लेखेका सबै समाचार सत्य छन् ? अर्कोकुरा खगेन्द्र सुनारमाथि निरन्तर खनिने मिडियाले खगेन्द्रहरुलाई तिताे बाेल्न बाध्य कसले बनायो ? यसको जवाफ लेख्नु मिडियाको धर्म हाेइन र ? किन आवेग आक्राेशले भरिएको खगेन्द्रकाे आवाजमाथि नकारात्मक तवरबाट अक्सर मुलधारकाे समुदायले धाँवा बाेलिरहन्छ ? खगेन्द्र नकारात्मकमात्रै छन् त ?

विगत चार हजार वर्षदेखि दलित समुदायमाथि दमन , बहिष्करण , अन्याय , अत्याचार , शारीरिक मानसिक यातना कथित उच्च जातबाट भइरहेको छ । यिनै अन्याय अत्याचार विरुद्ध आवाज उठाउँदा विशेषगरी दलाल कथित उच्च जातलाई मनपरेकाे छैन । उनीहरूलाई दलितका मुद्दा उठान गर्न संविधानले प्रदान गरेको धारा ४१ , समावेशी समानुपातिक सिद्धान्त असह्यै भएको देखिन्छ । जसकारण जब खगेन्द्र जस्ता पात्र समाजमा देखिन थाल्छन् । तब उनीहरू टाउको दुख्न थाल्छ । उनीहरूले देखेको कथित मिलेको समाज भाँडिन थाल्छ । दलित हकअधिकारकाे आवाज , समता , समानताको आवाज कथित जातवादीहरुलाई असह्यै हुन्छ । यस्ता असह्यमाथि लाखौंलाख खगेन्द्रहरु बाेल्छन् र बाेल्न बाध्य हुन्छन् । र प्रतिरोधकाे बिन्दुमा सदैब अगाडि हुनेछन् ।

अन्तताेगत्वा , नेपाली समाजमा आजको मितिसम्म पनि प्रत्यक्ष , अप्रत्यक्ष , नियाेजित ढंगबाट दलितमाथि दमन भइरहेको जगजाहेर नै छ । नेपाली समाजको यहीँ रवैयाले निरन्तरता पाइरहे , यसका विरुद्ध दलितहरु बाेल्छन् , लड्छन् , र प्रतिरोधकाे प्रक्रिया राेकिने छैन । अझ सशक्त हुनेछ । दलित अधिकारका लागि बाेलिरहँदा कतिपय अवस्था राम्रो शब्द आउनसक्छ , कतिपय अवस्थामा ठुलै दुर्घटना ढिलाेचाडाे घट्नसक्छ, । यसका लागि राज्य तयारी अवस्थामा बसे हुन्छ ।

3 thoughts on “खगेन्द्र सुनारहरु किन बाेल्छन् ?”

ziatogel alternatif’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ