काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत रणजित रायले नेपालको राजसंस्था पुनर्स्थापन हुनु भारतको हितमा नहुने तर्क गरेका छन् । एक टेलिभिजन बहसमा भाग लिँदै उनले राजसंस्थासँग भारतको विगतमा राम्रो सम्बन्ध नरहेको स्मरण गरे ।
नेपाल आएका भारतीय राजदूतहरूमध्ये सर्वाधिक चर्चित र विवादितमा पर्छन् राय । भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा उनी राजदूत थिए । उनी नेपाली राजनीतिभित्र घुसेर अनेक चलखेलहरू गर्ने गर्थे । पछि उनले नेपालकै राजनीतिकलाई केन्द्रमा राखेर ‘काठमाडौं डेलीमा’ नाम पुस्तक पनि लेखे ।
इन्डिया टिभीको ‘कफी पर कुरुक्षेत्र’ नामक टक शोमा उनै रेसहित दुई कथित ‘नेपाल विज्ञ’ सहित प्रस्तुत भएका थिए । सुरुमै रञ्जित रेलाई राजा ज्ञानेन्द्रका विषयमा सोधियो । रेले ज्ञानेन्द्रलाई एक निरंकुश राजाको रूपमा चित्रण गरे ।
उनले भने, ‘राजा ज्ञानेन्द्र आफ्नो पिता महेन्द्रले जस्तै तानाशाही राजतन्त्र ल्याउन चाहन्थे । संवैधानिक नभएर कार्यकारी राजतन्त्रको लोभ पालेका थिए । एक पटक उनले निरंकुश सत्ताको अभ्यास गर्न खोजे । तर, माओवादी र राजनीतिक दल एकबद्ध भएर राजालाई हटाइदिए । २००६ मा राजा र दलहरुबीच सम्झौता भएको थियो । २००८ मा औपचारिकरुपले हटाइयो । त्यसबेला नेपालमा ठूलो आन्दोलन भएको थियो ।’
रेपछि अर्का अतिथि प्रदीप सिंहले केही ऐतिहासिक प्रसंग निकाले । विगतमा नेपाल हिन्दू राष्ट्र रहेको तत्कालीन भारतीय प्रधानमन्त्री नेहरुलाई मन नपरेको उनले सुनाए । राजपरिवारले भारतसँग निकट हुन नसकेपछि चीनतिर फर्किएको उनको भनाइ थियो ।
सिंहले नेपालमा भएको माओवादी आन्दोलन भारतले गराइदिएको पनि दाबी गरे ।
उनले भने, ‘माओवादी आन्दोलनमा भारतीय खुफिया एजेन्सी रअको ठूलो योगदान छ । भारतले यो आन्दोलन चलाएको थियो ।’ अन्तरवार्ताकारले छक्क पर्दै सोध्छन्, ‘भारतले माओवादी आन्दोलन चलाएको हो ?’ सिंहले जवाफ दिए, ‘बिलकुल हो । माओवादी नेताहरूले भारतमै आश्रय लिएका थिए । सिताराम यचुरी माओवादीका सबैभन्दा ठूला सल्लाहकार थिए ।’
राजाको पालामा लगाएको नाकाबन्दी उनले सम्झिए । उनको भनाइमा नाकाबन्दी लगाउनुका दुई कारण थिए ।
‘राजीव गान्धी १९८७ मा सार्क सम्मेलनमा नेपाल गएका थिए । १९८८ मा फेरि गए सोनिया गान्धीलाई लिएर । त्यसबखत उनी श्रीमतीसहित पशुपतिनाथ मन्दिरको दर्शन गर्न चाहन्थे । तर, गैर हिन्दूले पशुपतिमा प्रवेश नपाउने भनेर सोनियालाई प्रवेश गर्न दिइएन । त्यसपछि उनले राजालाई फोन गरे । राजाले पशुपतिको परम्परामा आफूहरूले दक्खल दिन नमिल्ने बताए । राजीव गान्धीलाई यो अपमानजनक लाग्यो । त्यसपछि भारतले नेपालमा ब्लकेड गरिदियो । नाकाबन्दी लगाउनुको अर्को कारण चाहिँ राजाले चीनबाट महँगा हतियार खरिद गर्नु पनि थियो,’ उनले व्याख्या गरे ।
हालका प्रधानमन्त्री केपी शर्मा ओली चीनको काखैमा बसेको टिप्पणीसमेत सिंहले गरे । आज नेपाल भारतभन्दा चीनसँग नजिक रहेको उनको दाबी थियो ।
पूर्वराजदूत रेले भने ऐतिहासिक रूपमा नै राजसंस्थासँग भारतको राम्रो सम्बन्ध नरहेको बताए । राजाले नेपालमा बहुदलीय प्रजातन्त्र समाप्त गरेको र चीनबाट एन्टी एयरक्राफ्ट गन खरिद गरेकोले भारत चिढिएको उनको भनाइ छ ।
‘१९६० मा राजा महेन्द्रले सत्ता हातमा लिएपछि भारतले आलोचना गर्यो । त्यसपछि नेपाल चीनतिर ढल्किएको हो । त्यहाँ ‘एन्टी इन्डिया राष्ट्रवाद’ वा ‘पहाडी राष्ट्रवाद’ हाबी छ । सन् २००५ मा ज्ञानेन्द्रले सत्ता लिएपछि सार्क सम्मेलन ढाकामा भएको थियो । ज्ञानेन्द्रले त्यहाँ चीनलाई सार्कको सदस्य बनाउने प्रस्ताव गरे ।’
‘नेपालमा राजसंस्था आउनु नेपालको हितमा हुन्छ जस्तो मलाई लाग्दैन । नेपालमा हिन्दू राष्ट्र र राजसंस्था ऐतिहासिकरुपमा अन्तरसम्वन्धित छन् । मेरा नेपाली मित्र विजयकुमार पाण्डे भन्नुहुन्थ्यो कि हिन्दु राष्ट्रको ट्रेनको अन्तिम डिब्बामा राजसंस्था छ । किनकी राजा आफूलाई विष्णुको अवतार मान्छन् । आज नेपालमा बिनाराजाको हिन्दू राष्ट्र बनाउने चर्चा चलिरहेको छ । भारतले धेरै वर्षदेखि संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई नेपालका दुई पिल्लर मान्दै आएको थियो । तर, राजाले बहुदलीय प्रजातन्त्र समाप्त गर्ने प्रयास गरेर सत्ता हातमा लिएपछि एउटा मात्रै पिल्लर रह्यो । नेपालमा ठूलो आन्दोलन भयो, जसलाई भारतले साथ दियो,’ उनले सुनाए ।
नेपालमा राजसंस्था समाप्त हुनुको मुख्य कारण राजा आफैँ भएको रेले तर्क गरे । उनी थप्छन्, ‘हामी सधैँ नेपाली जनताको साथमा थियौँ । राजपरिवार हुँदासम्म दुईपिल्लरको नीति लियौँ । तर राजतन्त्रविरुद्ध जनता सडकमा आएपछि भारतले आफ्नो नीति बदलिएको हो ।’